काठमाडौं । वर्ल्डलिंक कम्युनिकसन्सको आर्थिक सहयोग तथा इन्जिनियर्स विदाउट बोर्डर्ससँगको कार्यान्वयन सहकार्यमा सिमरास्थित नेपाल राष्ट्रिय सेकेन्डरी विद्यालयमा ‘आई जात्रा’ कार्यक्रम सञ्चालन गरिएको छ ।
आई ल्याब परियोजनाअन्तर्गत विद्यार्थीहरूले सिकेका सीपलाई व्यवहारमा उतार्ने उद्देश्यले ‘आई जात्रा’ प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको हो । कार्यक्रममा १५ भन्दा बढी स्टलमार्फत विद्यार्थीहरूले प्रविधि सामग्री, हस्तकला, खाद्य परिकार तथा खेल गतिविधिजस्ता सिर्जनात्मक उत्पादन र सेवा प्रस्तुत गरेका थिए । करिब छ महिना अघि आईल्याव तालिम लिएका विद्यार्थीहरूले तालिमपछिको निरन्तर अभ्यास, शिक्षकहरूको मार्गदर्शन र समूहगत कार्यका आधारमा मेला आयोजना गरेका हुन् । विगत दुई वर्षदेखि वर्ल्डलिंकको सीएसआर कार्यक्रमअन्तर्गत आइल्याव परियोजना ललितपुर, दार्चुला, स्याङ्जा र सिमरामा सञ्चालन हुँदै आएको छ । यसअघि ललितपुर र दार्चुलामा यो कार्यक्र सम्पन्न भइसकेको थियो भने सिमरामा पहिलो पटक आयोजना गरिएको हो ।
कार्यक्रममा वल्डलिंककी सीएसआर निर्देशक अनुपा भण्डारी जालानले देशबाट दैनिक ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीका लागि बाहिरिरहेको उल्लेख गर्दै देशभित्रै सीप, नवप्रवर्तन र उद्यमशीलतामार्फत अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले विद्यार्थीलाई किताबीय ज्ञानमा सीमित नराखी व्यावहारिकसीपमा रूपान्तरण गर्नु समयको माग भएको बताइन् । स्थानीय सरकार र सरोकारवालाले विद्यार्थीका उत्पादनको प्रचार–प्रसार, बजारीकरण र व्यवसायीकरणमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो । यस्तो सहकार्यले विद्यालयस्तरबाटै उद्यमशील संस्कृतिको विकास भई भविष्यमा रोजगारदाता उत्पादन गर्ने आधार तयार हुने उनले बताइन् ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले उत्पादन निर्माणदेखि बिक्रीसम्म प्रत्यक्ष अनुभव प्राप्त गरेका थिए । यसले उनीहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता र टोलीमा काम गर्ने दक्षता अभिवृद्धि गरेको आयोजकले जनाएको छ । आफ्नै उत्पादन प्रदर्शन तथा बिक्री गर्ने अवसरले आत्मविश्वास बढाउनुका साथै बजारको माग र ग्राहक व्यवहार बुझ्ने व्यावहारिक ज्ञानसमेत प्रदान गरेको विद्यालय प्रशासनको भनाइ छ ।