काठमाडौं । नेपाली बजारमा बाइक भाडामा उपलब्ध गराउने एउटा भरपर्दो प्ल्याटर्फमको रूपमा पहिचान बनाउँदै गरेको ‘आरवाईडी नेपाल’ले आफ्नो पहिलो वर्कसप सञ्चालनमा ल्याएको छ ।
शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी आरवाईडी नेपालले सेवालाई थप सुदृढ बनाउन अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याएको हो । वर्कसपको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी गरेका उद्घाटन गरेका थिए । साथै, उद्घाटन समारोहमा नाडाका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलाल, एसटीसी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेती, भेन्चर हायर पर्चेज प्रालिका सीईओ बाबुराम शर्मा, सीजी मोटर्सका सीईओ कपिल सिवाकोटीलगायत अटो क्षेत्रमा सम्बद्ध व्यक्तिहरूको उपस्थिति थियो । आरवाईडी नेपालका अध्यक्ष अभिषेक खतिवडाले आगामी दिनमा सेवा विस्तार गर्दै शाखा तथा प्राविधिक केन्द्र स्थापना गर्ने योजना बनाएको बताए । सुरुवाती चरणमा हिरो सुपर स्प्लेन्डरका ५० वटा बाइकबाट आफ्नो सेवा यात्रा प्रारम्भ गरेको आरवाईडी नेपालले हाल आफ्नो क्षमता बढाएर १ सयवटा पुर्याएको छ ।
नयाँ वर्कसपमा अनुभवी प्राविधिक टोलीमार्फत बाइकको नियमित सर्भिसिङ, इन्जिन जाँच, ब्रेक तथा टायर परीक्षण, पाट्र्स प्रतिस्थापनलगायतका सेवा उपलब्ध गराइने बताइएको छ । आरवाईडी नेपाल काठमाडौंका सडकमा हजारौँ युवालाई रोजगारीको अवसर दिने उद्देश्यका साथ नयाँ बाइक भाडामा दिने गरेको छ । कम्पनीले बजारमा रहेका पुराना र जीर्ण बाइकहरूभन्दा फरक, ब्रान्ड–न्यू बाइकहरू मात्र भाडामा उपलब्ध गराउँछ ।
कम्पनीले प्रतिदिन आठ सय रूपैयाँ मात्र भाडा तोकेको छ । यसमा कुनै पनि लुकेको शुल्क वा अतिरिक्त जटिलता नभएको बताइएको छ । आरवाईडी नेपालले राइडरलाई केवल भाडामा मात्र सीमित नगरी, डेढ वर्षमा आफ्नै बाइकको मालिक बन्नसक्ने मोडल पनि तयार गरेको छ । यसले राइडरको भविष्य निर्माणमा सहयोग पुग्ने कम्पनीले अपेक्षा गरेको छ । सञ्चालक टिमका अनुसार कम्पनीले राइडरहरुलाई सुरुमा हेल्मेट, फोन होल्डर, रेनकोटका साथसाथै एकपटक सगुनस्वरुप एक हजार पाँच सयको पेट्रोल पनि उपलब्ध गराउनेछ । वर्कसप सञ्चालनसँगै अब बाइकको अवस्था अझ चुस्त राख्न मद्दत पुग्ने र आकस्मिक प्राविधिक समस्या समाधान छिटो गर्न सकिने कम्पनीले जनाएको छ ।