पराराष्ट्र मन्त्रालयले इरान र अमेरिका–इजरायल युद्धका कारण मध्यपूर्वमा रहेका १७ लाख जनाभन्दा बढी नेपाली रहेको जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले इरान र अमेरिका–इजरायल युद्धका कारण असुरक्षा बढेकाले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता दिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार मध्यपूर्व र आसपासका इरानमा छ जना, इजरायलमा छ हजार पाँच सय, इजिप्टमा पाँच सय, ओमानमा २५ हजार, कतारमा तीन लाख ५७ हजार, कुवेतमा एक लाख ७५ हजार, जोर्डनमा तीन हजार, बहराइन २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार आठ सय ६५, संयुक्त अरब इमिरेट्समा चार लाख ७८ हजार एक सय ४४, लेबनानमा एक हजार पाँच सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार गरी हाल कुल १७ लाख २९ हजार दुई सय ८८ जना नेपाली नागरिक रहेका छन् । इरानबाट भने चार जना फर्किन लागेको बताइएको छ ।
मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्तरूपमा सैन्य आक्रमण गरेपछि र इरानले त्यसको प्रत्याक्रमण गरेपछि मध्यपूर्वको स्थिति तनावपूर्ण बनेको छ । पत्रकार सम्मेलनमा सहसचिव कृष्णप्रसाद ढकालले नेपालीको उक्त संख्या वैधानिक तथ्यांक भएको बताए । ‘हामीले संकलन गरेको तथ्यांक वैधानिक तरिकाबाट गएको हो एक पटक गएर त्यहाँ अवैधरूपमा बस्दै आएका पनि हुन सक्छन्’, उनले भने, ‘यो संख्या वैधानिकरूपमा गएका वा त्यहाँ रहेको तथ्यांक मान्नु पर्छ ।’ सहसचिव ढकालले हालसम्म त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको बताएका छन् । ‘हालसम्म त्यस क्षेत्रमा नेपाली नागरिक सुरक्षित छन् । नेपाल सरकारले घटनाक्रम नजिकबाट हेरिरहेको छ । सम्बन्धित मुलुकले जारी गरेको सुरक्षासम्बन्धी सूचना जानकारी लिई त्यसको पालना गर्न नेपाली नागरिकहरूमा अपिल गर्दछौँ’, उनले भने, ‘थप सहयोगका लागि विदेशस्थित नेपाली नियोगहरूलाई समेत सम्पर्क गर्नसक्ने व्यवस्था गरेका छौँ ।’
उनले नेपाली नागरिकहरूको सहजका लागि मन्त्रालय र सम्बन्धित देशमा रहेका नेपाली नियोग प्रमुखहरूको ह्वाट्सएप ग्रुप बनाएका जानकारी दिए । ‘त्यहाँका गतिविधिहरू ग्रुपमा अपडेट गर्ने गरिएको छ । नेपालीहरूले भोगेको समस्याको पनि त्यहाँ अपडेट हुनेगरेको छ’, सहसचिव ढकालले भने, ‘त्यसैगरी कन्सुलर सेवा विभागलाई नेपाली नागरिकको उद्धार गर्नको लागि र नेपालीहरूको अवस्थाको जानकारीको लागि रजिस्ट्रेसन प्लेटर्फम विकास गर्ने कामको थालनी भएको छ । यो भोलिसम्ममा तयार हुन्छ र सबै नेपाली नियोगहरूको वेबसाइटमा हामी त्यसलाई राख्नेछौँ । त्यसले नेपाली नागरिकलाई आफ्नो डाटा राख्न सजिलो हुन्छ । कन्सुलर सेवा विभागले एपको पनि विकास गरेको छ ।’यस्ता घटनाक्रमलाई सम्बोधन गर्न मन्त्रालयले ‘¥यापिड एक्सन टिम’ गठन गर्न लागेको सहसचिव ढकाललले जानकारी दिए । पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यस क्षेत्रका नेपालीको सुरक्षाका लागि सरकारले आवश्यक काम र पहल गरिरहेको बताए । उनले त्यहाँ नेपाली नागरिकलाई घरभित्रै सुरक्षित रहन, सूचना पालना गर्न, अफ्ठ्यारो परेमा दूतावास र मन्त्रालयसँग सम्पर्कमा रहन आग्रह गरको बताए ।
मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी श्रेष्ठले नेपाली नागरिकको सरक्षाका लागि त्यस क्षेत्रका आठ दूतावास र दुई कन्सुलर सेवाबाट सूचना जारी गरी समन्वय भइरहेको बताए । यसैगरी मन्त्रालयले ‘एडभाइजरी’ जारी गर्दै सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको हो ।‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू रहेको स्थानका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् । सम्बन्धित निकायको पूर्वस्वीकृतिविना अनावश्यक यात्रा नगर्नुहोस् । काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अविवस्थित नेपाली दूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस्’, मन्त्रालयले जारी गरेको एड्भाइजरीमा उल्लेख छ ।मध्यपूर्वको घटनाक्रमपछि हाल भिसा र टिकट लिई गन्तव्य मुलुक जाने तयारीमा रहेका, गन्तव्य मुलुक जानका लागि विमानस्थल पुगेका र युरोप तथा अमेरिका जानका लागि ट्रान्जिट विमानस्थलमा अलपत्र परेका नेपाली नागरिकले सास्ती भोग्नुपरेको पनि जनाइएको छ ।
खाडी देशका लागि श्रम स्वीकृति स्थगित
सरकारले खाडी मुलुकका लागि तत्काल श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा भएको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो । इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण गर्दै आएको छ । इरानले युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, ओमान, कुवेतलगायत देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण थालेको हो । जसले गर्दा त्यहाँ रहेका नेपालीको सुरक्षा चासो बढ्दै गएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बढ्दो तनाव मध्यनजर गर्दै ती देशमा श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको जानकारी दिएका छन् । उनले श्रम मन्त्रालयमा रहेको कल सेन्टर चौबीसै घण्टा तयारी अवस्थामा राखिएको बताए । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्दै आएको छ । मध्यपूर्व जानका लागि मासिकरूपमा हजारौँले श्रम स्वीकृति लिएको पाइन्छ । मध्यपूर्वामा तवानको स्थिति सिर्जना भएसँग विभागले श्रम स्वीकृति प्रदान नगरेको हो ।
इरानी आक्रमणमा यूएईमा एक नेपालीको मृत्यु
अमेरिकी हवाई अड्डालाई लक्षित गरी यूएईमा इरानले गरेको आक्रमणमा नेपालीको पनि ज्यान गएको छ । यूएईको रक्षा मन्त्रालयका अनुसार इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा यूएईमा एक नेपालीसहित पाकिस्तानी र बंगलादेशीको मृत्यु भएको हो । शनिबारदेखि आफूविरुद्ध अमेरिका र इजरायलले आक्रमण थालेपछि इरानले यूएई, कुवेत, इराक, बहरेनलगायतका देशमा रहेका अमेरिकी सुरक्षा बेसहरुलाई क्षेप्यास्त्रको निशाना बनाएको छ । सोही क्रममा रोजगारीका लागि गएका ती नेपालीको मृत्यु हुनपुगेको हो । मृत्यु हुने नेपालीबारे थप विवरण मन्त्रालयले दिएको छैन । मन्त्रालयले ट्विटरमार्फत दिएको जानकारीअनुसार इरानले हालसम्म एक सय ६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र पाँच सय ४१ वटा ड्रोन यूएईमा प्रहार भएका छन् । अधिकांश क्षेप्यास्त्र र ड्रोन नष्ट गरेको यूएईको हवाइ रक्षा प्रणालीबाट कतिपय ड्रोन लक्ष्यभेद गर्न सफल भएका थिए । तिनै ड्रोन आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तानलगायत १५ देशका ५८ जना नागरिक घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यूएईले नागरिक सुरक्षा र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भन्दै इरानी आक्रमणको भत्र्सना गरेको छ । आक्रमणका घटना बढ्न थालेपछि यूएईमा कामदारलाई घरबाटै काम गर्ने व्यवस्था लागू गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ । भौतिक उपस्थिति अनिवार्य हुने महत्वपूर्ण भूमिकाबाहेक अन्य कर्मचारीहरूलाई खुला क्षेत्रमा नखटाउन त्यहाँको मानव संसाधन मन्त्रालयले सिफारिस गरेको एजेन्सीहरुले उल्लेख गरेका छन् । गल्फ न्युजका अनुसार यो निर्देशिन आइतबार, १ मार्चदेखि मंगलबार, ३ मार्च २०२६ सम्म तीन दिनका लागि लागू हुनेछ ।
अलपत्र नेपालीलाई सरकारले यथास्थानमा सुरक्षा दिएर राख्ने
सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षा दिएर राख्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने उल्लेख गर्दै तत्कालका लागि जहाँ छन् त्यहिँ सुरक्षा दिएर राख्नका लागि व्यवस्था मिलाउने निर्णय भएको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए । सरकारले मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सम्बन्धित देशका नेपाली दूतावासलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न पनि निर्देशन दिएको छ । बैठकबारे जानकारी दिँदै उनले भने, ‘अवस्था सामान्य छैन, अहिलेलाई सबै विमानस्थल बन्द छन्, कसैलाई फर्काउन र ल्याउन सकिंदैन, तयसैले अहिले जहाँ छन् त्यहीँ सुरक्षा दिएर राख्ने विषयमा छलफल भएको छ, सम्बन्धित मुलुकमा ट्रान्जिटमा परेका नेपाली यात्रुको असुविधाबारे छलफल भएको छ ।’ क्षेत्रका लागि आधिकारिक ट्राभल एडभाइजरी जारी गरिएको मन्त्री शर्माले बताए । राजदूतलाई सम्पर्क गरेर नेपाली नागरिकलाई गन्तव्यमा पुर्याउने र जान नसक्नेलाई होटलमा व्यवस्था गर्ने काम भएको उल्लेख गर्दै उनले सम्बन्धित व्यवसाय दिने कम्पनी अथवा एयरलाइन्सले रेखदेख गर्नेगरी समन्वय भएको बताए । मन्त्री शर्माले नेपाली नागरिकलाई परेको असर र समाधानबारे बैठकमा छलफल भएको जानकारी दिए ।