काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छिन् । सोमबार देशवासीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले इरान र त्यस वरपरको क्षेत्रमा गहिरिएको युद्धको संकटलाई सरकारले सूक्ष्म रूपमा नियालिरहेको भन्दै त्यहाँ रहेका नेपालीको अवस्थाप्रति सरकार चिन्तित रहेको बताएकी हुन् ।
‘विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ। त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो’, उनले भनिन्, ‘त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ ।’
उनले नेपाली नागरिकलाई नआत्तिन र दुतावास तथा कुटनीतिक नियोगको सम्पर्कमा रहन पनि आग्रह गरिन्। ‘हामी हरदम तपाईँहरूको साथमा छौँ । नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ’, उनले भनिन्।