काठमाडौं । बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी चार खर्ब ४६ अर्ब रुपैयाँ नाघेको छ । चालू आर्थिक वर्षको पुससम्म एउटा पूर्वाधार बैंक र ५१ वटा लघुवित्तबाहेक २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनीसहितका कुल ५४ वटा संस्थाहरूको कुल चुक्ता पुँजी चार खर्ब ६० अर्ब एक करोड १० लाख रुपैयाँ पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा १७ अर्ब तीन करोड १० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रको यस्तो चुक्ता पुँजी चार खर्ब ४२ अर्ब ९७ करोड २० लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूको मात्र कुल चुक्ता पुँजी तीन खर्ब ९९ अर्ब २९ करोड २० लाख रुपैयाँ पुगेको छ । यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा १४ अर्ब ३६ करोड ४० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको यस्तो चुक्ता पुँजी तीन खर्ब ८४ अर्ब ९२ करोड २० लाख रुपैयाँ रहेको थियो । विकास बैंकहरूको कुल चुक्ता पुँजी भने चालू आवको पुस मसान्तसम्ममा ४५ अर्ब ४० करोड ३० लाख रुपैयाँ पुगेको छ । यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा दुई अर्ब ६३ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूको यस्तो चुक्ता पुँजी ४२ अर्ब ७७ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
फाइनान्स कम्पनीहरूले भने पछिल्लो अवधिमा १५ अर्ब ३१ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा चार करोड ५० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूको कुल चुक्ता पुँजी १५ अर्ब २७ करोड १० लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पुस मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या भने ११ हजार पाँच सय तीनवटा पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार ९२, विकास बैंकहरूको एक हजार एक सय २८, फाइनान्स कम्पनीहरूको दुई सय ९१ र लघुवित्त वित्तीय संस्थाहरूको चार हजार नौ सय ९२ वटा शाखाहरू सञ्चालनमा रहेका छन् । २०८२ असार मसान्तसम्ममा भने वाणिज्य बैकहरूको पाँच हजार ९९, विकास बैंकहरूको एक हजार एक सय ३२, फाइनान्स कम्पनीहरूको दुई सय ९१ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार चारवटा समेत गरी कुल ११ हजार पाँच सय २६ वटा शाखाहरू सञ्चालनमा रहेका थिए । २०८१ असार मसान्तसम्ममा भने बैंक तथा फाईनान्स कम्पनीहरूको ११ हजार पाँच सय ३० वटा शाखाहरू सञ्चालनमा रहेका थिए । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार ५६, विकास बैंकहरूको एक हजार एक सय ३५, फाइनान्स कम्पनीहरूको दुई सय ८८ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार ५१ वटा शाखाहरू सञ्चालनमा रहेका थिए ।
विगतका तुलनामा पछिल्लो समय धेरैवटा बैंक तथा फाइनान्स कम्पनीहरूमा मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुँदा त्यस्ता संस्थाहरूको शाखाहरू पनि एक आपसमा गाभिएका कारण पछिल्लो समय बैंकिङ क्षेत्रको कुल शाखा संख्यामा कमी आएको देखिएको हो ।