काठमाडौं । निर्वाचनको आयोगको माग र नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार होली र चुनावको समयमा पनि बैंक तथा फाइनान्स कम्पनीका सीमित बैंकिङ कारोबारहरू खुला हुने भएका छन् ।
राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतको नाममा सार्वजनिक सूचना जारी गर्दै होली र निर्वाचनको समयमा पनि बैंकहरू खुला राख्न निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्थाहरू खुला राख्ने बारेमा राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, निर्वाचन आयोग नेपालको पत्रबाट प्रतिनिधि सभा सदस्य आम निर्वाचनलाई मध्यनजर गरी वित्तीय सेवा सुचारु/सञ्चालन गरिदिन यस बैंकलाई अनुरोध भएबमोजिम २०५२ साल फागुन २१ गते बिहीबारका दिन हुने प्रतिनिधिसभा सदस्य आम निर्वाचनका सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) द्वारा फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा भएको तथा २०८२ फागुन १८ गते हिमाली र पहाडी जिल्लालगायतका ५६ जिल्लामा तथा २०८२ फागुन १९ गते तराईका २१ जिल्लामा होली पर्व÷फागु पूर्णिमाको सार्वजनिक बिदा हुने भएकाले उक्त सार्वजानिक बिदा अवधिमा सीमित बैंकिङ सेवा प्रवाह÷सञ्चालन गर्ने व्यवस्था मिलाउनहुन यो सूचना जारी गरिएको छ ।
राष्ट्र बैंकका अनुसार यो सूचनाअनुसार सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरूद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला, निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरूद्वारा राजनीतिक दल तथा उम्मेदवारहरूको नगद वा चेक वा अन्य विनिमेय साधनहरूको दाखिला, भुक्तानीलगायतका बैंकिङ सेवाहरू सुचारु हुनेछन् ।