सिद्धार्थनगर (रुपन्देही) । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुटवलबाट काठमाडौँ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिंदा उक्त दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय देवदहका अनुसार लुप्र०१–००१ख ०८१६ बसले लु९२प ७९९० नम्बरको स्कुटरलाई राति करिब १०ः३० बजे देवदह–९ स्थित घोडाहा काँटा चोकमा ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परी देवदह–५ निवासी २८ वर्षीय सुनिल पाण्डे गम्भीर घाइते भएका थिए ।
प्रहरी निरीक्षक भीमसेन विष्टले देवदह मेडिकल कलेज, भलुही पुर्याइएकामा उपचारका क्रममा पाण्डेको मृत्यु भएको जानकारी दिएका छन् ।
देवदह–५ कै स्कुटर चालक २८ वर्षीय कृष्ण पाइजा उक्त दुर्घटनामा परी घाइते भएका छन् । उनको देवदह मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।