काठमाडौं । सरकारले बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनको लागि भारत र चीनसँगका सीमा नाकाहरू बन्द गरेको छ । निर्वाचन शान्तिपूर्ण तथा सहज वातावरणमा सम्पन्न गर्न सरकारले भारत र चीनसँगका सीमा नाकाहरू बन्द गरेको हो ।
अधिकांश सीमा नाकाहरू सोमबार रातिदेखि बन्द गरिएको हो । निर्वाचन सुराक्षालाई ध्यानमा राख्दै सीमा नाका बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ । सोही क्रममा मन्त्रालयले सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमा नाका बन्द गरेको छ । भारतसँग सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जोडिएका छन् उक्त नाकाहरू बन्द गरिएको हो ।
नाका बन्द भएसँगै नेपाल सरकार र स्थानीय प्रशासनसँग पूर्वस्वीकृति लिएर हुने अत्यावश्यक सेवासँग जोडिएका आवागमन तथा अन्तरदेशीय आयात–निर्यातजन्य ढुवानीबाहेकलाई आवागमनमा रोक लगाइएको छ । आवागमन रोक लगाइएसँगै सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ)ले सीमा क्षेत्रमा जाँच तथा निगरानीमा कडाइ गरेको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले पनि निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय नाका ७२ घण्टा बन्द गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यअन्तर्गतका पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सीमानाका निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेको जानकारी दिए ।
‘फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्मको अवधिमा सीमानाका बन्द गर्ने निर्णय भएको छ’, उनले भने, ‘निर्वाचनको समयमा दुवै मुलुकले ७२ घण्टा सीमानाका बन्द गर्ने परम्परा रहेको छ हाललाई पनि सोही परम्परालाई निरन्तरता दिएको ।’
यता जिल्ला प्रशासन कार्यालय पाँचथरले पनि भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्ने उद्देश्यसहित सीमानाका पूर्णरूपमा बन्द गरिएकोे हो ।
पाँचथरको भारतको सिक्किम र पश्चिम बङ्गाल राज्यसँग करिब ४४ किलोमिटर सीमा जोडिएको भए पनि सीमानाका भने छैन । तर यहाँ दुवैतर्फका बासिन्दा पारिवारिक, व्यापारिक, पर्यटन तथा पशुचौपायाको चरिचरनका लागि सीमा वारपार गर्ने गरेका छन् । दुवैतर्फ पारिवारिक सम्बन्ध हुनाले नियमितजसो आवतजावत हुने गर्दछ । प्रशासनले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिकाबमोजिम सीमानाका बन्द गरिएको जनाएको छ ।
नाका बन्द गरिएको अवधिमा पनि सुरक्षा अधिकारीहरूबाट प्रमाणित भएका आकस्मिक स्वास्थ्य सेवा प्रदायक एम्बुलेन्सलगायत सवारीसाधन भने सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सीमानाका नभए पनि चिवाभञ्ज्याङ, फालोटलगायत क्षेत्रबाट सवारीसाधन र मानिस आवागमन हुने गरेका कारण प्रशासन सो कार्यमा रोक लगाएको हो ।
निर्वाचनका लागि चीनतर्फको नाकाहरू पनि स्थायीरूपमा बन्द गरिएको छ । निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिका–५ स्थित हिल्सा नाका बन्द गरिएको हो । निर्वाचनलाई लक्षित गरी चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाका आउजाउ बन्द गरिएको हो । सोमबारदेखि उत्तरी नाम्खा गाउँपालिका–५ स्थित हिल्सा नाका बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्ला जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार निर्वाचनको मत परिमाण नआउनजेल हिल्सा नाका बन्द गरिनेछ ।
नेपाल–चीन सीमास्थित तातोपानी नाका पनि निर्वाचनलाई लक्षित गर्दै अस्थायीरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले फागुन २१ गते राति १२ बजेसम्मका लागि नाका पूर्णरूपमा बन्द रहने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला कमान्ड पोस्टको निर्णयअनुसार नाका बन्द गरिएको हो ।
उनले निर्वाचन सम्पन्न भएलगत्तै नाका पूर्ववत् रूपमा सञ्चालनमा ल्याइने बताए । निर्वाचन कार्यमा प्रशासनका कर्मचारी मतदान केन्द्रमा खटिएकाले निर्वाचन सम्पन्न नहुँदासम्म शान्ति सुरक्षा र अत्यावश्यक सेवाबाहेकका अन्य सेवा प्रवाह पनि बन्द गरिएको कार्यालयले जनाएको छ । निर्वाचन अवधिभर सीमाक्षेत्रमा सुरक्षा सतर्कता समेत बढाइएको छ । तातोपानी नाका नेपाल–चीन व्यापारका लागि महत्वपूर्ण नाका मानिन्छ ।