काठमाडौं । नेपालको एसएमएस सेवा प्रदायक संस्था स्पारो एसएमएसले निर्वाचन आयोगले तोकेको मौन अवधिलाई कडाइका साथ पालना गर्ने जनाएको छ ।
कम्पनीले आफ्नो एसएमएस प्रणालीमार्फत राजनीतिक प्रचारप्रसार पूर्णरूपमा नियन्त्रण गर्ने व्यवस्था लागू गरेको जानकारी दिएको हो । निर्वाचन अवधिमा स्वच्छ, निष्पक्ष र मर्यादित वातावरण सुनिश्चित गर्न कम्पनीले विशेष किबोर्ड ब्लक सिस्टम सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन प्रचारसँग सम्बन्धित सामग्रीहरू पहिचान गरी स्वचालित रूपमा अवरुद्ध गरिनेछ । यसले मौन अवधिमा कुनै पनि प्रकारको राजनीतिक प्रचारात्मक एसएमएस प्रसारण हुन नदिने कम्पनीको दाबी छ । कम्पनीका सीईओ मनोज थापाले नेपालमा जिम्मेवार प्रविधि सेवा प्रदायकको हैसियतले निर्वाचन आयोगका मार्गनिर्देशनहरू पूर्णरूपमा सम्मान गरिएको बताए । ‘लोकतान्त्रिक प्रक्रियाको सुरक्षा हाम्रो दायित्व हो र मौन अवधिमा डिजिटल माध्यमबाट हुने कुनै पनि दुरुपयोग रोक्नु हाम्रो मुख्य प्राथमिकता हो’, उनले भने ।
उक्त अवधिमा राजनीतिक प्रचारसँग सम्बन्धित सन्देशहरू मात्र अवरुद्ध गरिनेछन् । अन्य सेवा बैंकिङ सन्देश, सेवा सूचना तथा व्यावसायिक मार्केटिङ सन्देशहरू भने नियमित रूपमा सञ्चालनमा रहने कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनहरूमा पनि कानुनी प्रावधान, नियामक निकायका निर्देशन तथा सामाजिक जिम्मेवारीलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।