वीरगन्ज (पर्सा) । शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित पर्सा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पर्साको हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा१०च १२५० नम्बरको गाडीमाथि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जाँच गर्दा गाडीको पछाडि डिक्कीभित्र पहेँलो टेपले बेरिएको टिनको बक्साभित्र शङ्कास्पद वस्तु फेला पारेर अनुसन्धान भइरहेको जनाएको छ । शङ्कास्पद वस्तुसहित पक्राउ गरेका चारै जनामाथि अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले जानकारी दिए ।
४६ वर्षीय उम्मेदवार चौधरी, बाराको प्रसौनी गाउँपालिका–४ का सहाब आलम अन्सारी, धनुषाको धनुषाधाम नगरपालिका–४ का सुरज कार्की, पर्सागढी नगरपालिका–३ का सत्यनारायण थारू पक्राउ परेका छन् ।
त्यसैगरी, वीरगन्ज महानगर–१६ स्थित इनर्वागाउँस्थित विशेष सूचनाका आधारमा निर्वाचन लक्षित एकीकृत सुरक्षाकर्मीको संयुक्त टोलीले नौ थान सुतली बमसहित सुँगुरको टाउको एक थान र वाइरिङ तार १० मिटरसहित तीन जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिउपर विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर र निर्वाचनसम्बन्धी कसुरमा थप अनुसनधान भइरहेको पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।