द्वन्द्वरत मुलुकहरु इरान,अमेरिका र इजरायलसँग नेपालको व्यापार घाटा उच्च रहेको पाइएको छ । यीमध्ये इरानसँग नेपालको व्यापार केही लाभदायी रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको सात महिनामा मात्र नेपालको अमेरिकासँग छ अर्ब १६ करोड ५१ लाख चार हजार, इजरायलसँग दुई अर्ब १६ करोड ९१ लाख ९५ हजार र इरानसँग ६६ लाख ९१ हजार व्यापार घाटा रहेको छ । गत आर्थिक वर्षको सात महिनामा नेपालको अमेरिकासँग चार अर्ब ५५ करोड २६ लाख ६६ हजार र इजारयलसँग ६६ करोड सात लाख ३१ हजार व्यापार घाटा हुँदा इरानसँगको व्यापार भने ४० लाख ३५ हजारले नाफामा रहेको थियो ।
अमेरिका र इजारयलसँग उच्च आयात र न्यून निर्यात हुँदा नेपालको व्यापार घाटा उच्च हुने गरेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको सात महिनामा नेपालबाट अमेरिकामा ११ अर्ब २७ करोड ५८ लाख ५३ हजारको निर्यात व्यापार हुँदा आयात व्यापार १७ अर्ब ४४ करोड नौ लाख ५७ हजार रहेको छ । अमेरिकाबाट पाँच दर्जन बढी सामग्रीहरू आयात गरिएको देखिन्छ । समीक्षा अवधिमा तीन अर्ब ३७ करोड ५० लाख ६४ हजारको कोइला, एक अर्ब ८३ करोड ४९ लाखको भटमास, ५१ करोड ५६ लाखको बदाम (आल्मन्ड), सात करोड २० लाख ८६ हजारको लिक्वयर अर्थात् रक्सी, छ करोड ८७ लाख ५३ हजारको भ्याक्सिन, पाँच करोड ४७ लाखको ससेज, एक करोड ११ लाख १९ हजारको अनुहारमा लाउने क्रिम, ७२ लाख ६२ हजारको ओखर आयात गरिएको छ ।
समीक्षा अवधिमा नेपालबाट भने तीन अर्ब ६१ करोड ३९ लाख ३६ हजारको गलैँचा, एक अर्ब ९६ करोड ७८ लाख ८७ हजारको कुकुर र बिरालाको आहारा, एक अर्ब ११ करोड ८० लाख ९० हजारको फेल्ट, ४३ करोड ५२ लाखको कपडा, १९ करोड ६३ लाख ८० हजारको जर्सी पुलओभर कपडा, १७ करोड ७९ लाखको संगितका सामग्री, १३ करोड २६ लाख ६२ हजारको पास्ता, ११ करोड ७८ लाख २५ हजारको नेपाली कागज निर्यात भएको छ । त्यस्तै चालू आर्थिक वर्षको सात महिनामा नेपालबाट इजरायलमा चार करोड २५ लाख ४२ हजारको निर्यात व्यापार हुँदा आयात व्यापार दुई अर्ब २१ करोड १७ लाख ३७ हजार रहेको छ । इजारयलबाट ८६ करोड पाँच लाख ६१ हजारको अल्कोहलविनाको जुसलगायतका सामग्री, ३२ लाख दुई हजारको हुस्की, ३४ लाख ४४ हजारको भ्याक्सिन, ७० हजारको कफी, १२ हजारको फलफूल, १४ हजारको ग्रीन टी, ७८ हजारको चक्लेटलगायतका सामग्री आयात गरिएको छ । समीक्षा अवधिमा नेपालबाट इजरायलमा एक करोड ४८ लाख २८ हजारको सुर्तीजन्य पदार्थ, एक करोड १२ लाख ४८ हजारको महिलाका कपडा, ८० लाख ७५ हजारको संगिताका सामग्री, ११ लाख ८९ हजारको गलैंचा, ११ लाख तीन हजारको कुकुर तथा बिरालाको आहार निर्यात भएको छ ।
त्यस्तै चालू आर्थिक वर्षको सात महिनामा नेपालबाट इरानामा छ लाख ६५ हजारको निर्यात व्यापार हुँदा आयात व्यापार ७३ लाख ५६ हजारको रहेको छ । समीक्षा अवधिमा इरानबाट २३ लाख ६२ हजारको विभिन्न घरायसी भाँडाकुडा, चार लाख ६२ हजारको सुइरो, ३६ हजारको जुत्ताजन्य सामग्री, दुई लाख ३६ हजारको हिवस्की, २६ लाख १८ हजारको विभिन्न खाने सामग्री आयात गरिएको छ । समीक्षा अवधिमा नेपालबाट इरानमा पाँच लाख ११ हजारको महिलाका कपडा र एक लाख ५४ हजारको संगिताका सामग्री मात्र निर्यात भएको छ । द्वन्द्वरत मुलुक अमेरिका, इजारयल र इरानबाट नेपालले दर्जनौँ सामग्री आयात गर्दा ज्यादै न्यून सामग्री निर्यात गरेको पाइ्रन्छ ।
नेपालले गलैँचा, कपडा, कुकुर तथा बिरालाको आहार र संगीतका सामग्री निर्यात गरेको पाइन्छ भने भटमास, बदाम, ह्वीस्कीलगायतका मादक पदार्थ, ब्युटी उत्पादन लगायतका सामग्री आयात गरेको पाइन्छ । अति आवश्यकभन्दा पनि आवश्यक नपर्ने लगायतका सामग्रीहरू ती मुलुकबाट आयात गरेको पाइन्छ । ती मुलुकहरूबाट हिवस्की लगायतका मादक पदार्थहरू आयात गरी नेपालले लाखौं रकम पठाएको पाइन्छ ,जुन नियन्त्रण गर्न सकिने सामग्रीहरू रहेको जानकारहरू बताउछन् । मुख्यगरी इरान र अमेरिका इजरायलबीच द्वन्द्व चलिरहे पनि खाडी मुलुकहरू संयुक्त अरब इमिरेटस, कतार, साउदी अरबीया , ओमान लागयतका मुलुक पनि द्वन्द्वमा फसेका छन् । मध्यपूर्वका तथा खाडी मुलुकहरूसँग पनि नेपालको व्यापार भने फाइदाजनक रहेको पाइदैन ।