काठमाडौं । नेपाली कांग्रेसमा विगतमा सक्रिय रहँदै पार्टीबाट प्रशिक्षित तथा दीक्षित भएका र विभिन्न राजनीतिक भूमिकामा रहँदै कांग्रेसबाट लाभसमेत लिएका २६ जना नेता अहिले भने दल परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले विभिन्न जिल्लाका निर्वाचन क्षेत्रबाट उनीहरूलाई उम्मेदवार बनाएको हो। रास्वपाबाट उम्मेदवारी दिएका ती नेतामध्ये ताप्लेजुङबाट वीरेन्द्र श्रेष्ठ, संखुवासभाबाट मिङ्मा शेर्पा, धनकुटाबाट दिनेश भण्डारी, रसुवाबाट वसन्त भट्ट, काठमाडौं–६ बाट शिशिर खनाल, तनहुँ–१ बाट स्वर्णिम वाग्ले र तनहुँ–२ बाट श्रीराम न्यौपाने उम्मेदवार छन्। यस्तै पर्वतबाट सागर भुसाल, पाल्पा–१ बाट विमल पन्त, पाल्पा–२ बाट माधव थापा, परासी–१ बाट विक्रम खनाल, परासी–२ बाट नरेन्द्रकुमार गुप्ता, दाङ–१ बाट देवराज पाठक, बाँके–३ बाट खगेन्द्र सुनार र सुर्खेतबाट टेकबहादुर सिंह ठकुरी उम्मेदवार रहेका छन्। त्यसैगरी सुर्खेत–२ बाट रमेश सापकोटा, दार्चुलाबाट राजेशसिंह सामन्त, बैतडीबाट हरिमोहन भण्डारी, कञ्चनपुर–१ बाट जनकसिंह धामी, धनुषा–३ बाट मनीष झा, सर्लाही–४ बाट अमरेश सिंह उम्मेदवार बनेका छन्।रास्वपाबाट बारा–१ मा गणेश धिमाल, पर्सा–३ मा रमाकान्त चौरसिया, सप्तरी–४ मा सीताराम साह, मोरङ–१ मा राज्ञमणि न्यौपाने र खोटाङबाट रुद्र गिरी उम्मेदवार रहेका छन्। कांग्रेस पृष्ठभूमिका नेताहरू ठूलो संख्यामा रास्वपाबाट चुनावी मैदानमा उत्रिएपछि यसपटकको उपनिर्वाचनमा दल परिवर्तनको विषय पनि प्रमुख राजनीतिक बहसको विषय बन्न सक्ने देखिएको छ।