काठमाडौँ । निर्वाचन आयोगले बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको जनाएको छ ।
योसँगै करिब एक करोड १३ लाख ४२ हजार दुई सय १३ जनाले मतदान गरेका छन् । कुल मतदात एक करोड ८९ लाख तीन हजार छ सय ८९ जना मतदाता रहेका थिए सोमध्ये करिब ६० प्रतिशतले मतदान गरेको अयोगले जनाएको हो । यस निर्वाचनमा ९६ लाख ६३ हजार तीन सय ५८ पुरुष, ९२ लाख ४० हजार एक सय ३१ महिला र दुई सय अन्य गरी एक करोड ८९ लाख तीन हजार छ सय ८९ मतदाता रहेका थिए । निर्वाचनमा एक लाख ८६ हजार एक सय ४२ अस्थायी मतदाता कायम छन् ।
आयोगले बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य बिहान ७ः०० बजेदेखि साँझ ५ः०० वजेसम्म भएको निर्वाचनमा उक्त मत खसेको बताएको हो । जून अघिल्ला निर्वाचनको तुलनामा खसेको मत कम हो । आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले दोलखा, सर्लाही र रौतहटमा क्षणिक विवाद देखिए पनि अन्य स्थानहरूमा समस्या नभएको बताइन् । उनले दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवादपछि समाधान भएको थियो । केहीबेर मतदान स्थगनपछि दोलखाको तामाकोशी–४ स्थित मालु मतदानस्थलमा मतदान गरिएको उनले बताइन् ।
त्यस्तै गणतन्त्र स्थापनापछिको १८ वर्षमा दुईवटा संविधानसभा र दुईवटा संघीय प्रतिनिधिसभा निर्वाचन भइसकेको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८, २०५१ र २०५६ सालमा संसदीय निर्वाचन भएको थियो । ती निर्वाचनमध्ये सबैभन्दा बढी मत २०७० सालको संविधानसभा निर्वाचनमा खसेको आयोगको तथ्यांकले देखाएको छ ।
संविधानसभा निर्वाचन–२०६४
पहिलो संविधानसभा निर्वाचनमा कुल मतदाता एक करोड ७६ लाख ११ हजार ८३२ रहेकोमा कुल एक करोड आठ लाख ६६ हजार १३१ मत खसेको थियो । त्यसमध्ये एक करोड तीन लाख छ हजार एक सय २० मत सदर भएको थियो । पाँच लाख ६० हजार ११ मत बदर भएको थियो । समग्रमा ६१ दशमलव ६९ प्रतिशत मत खसेको थियो ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुल एक करोड ११ लाख ४६ हजार पाँच सय ४० मत खसेको थियो । त्यसमध्ये एक करोड सात लाख ३९ हजार ७८ (९६.३४ प्रतिशत) मत सदर भएको थियो ।
त्यतिबेला अस्थायी मतदाताको व्यवस्था थियो । सरकारी कार्यालय, स्थानीय निकाय, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थानमा कार्यरत कर्मचारी, सैनिक, प्रहरी ब्यारेकमा रहेका, माओवादी शिविरमा रहेका लडाकु, कारागारमा रहेका कैदी, बन्दी, निर्वाचन केन्द्रमा खटिएका कर्मचारीलाई अस्थायी मताधिकारको व्यवस्था मिलाइएको थियो । संविधानसभा सदस्य निर्वाचनका लागि चार लाख १३ हजार ५४४ अस्थायी मतदाता थिए ।
संविधानसभा निर्वाचन–२०७०
दोस्रो संविधानसभा सदस्य निर्वाचनमा एक करोड २१ लाख ४७ कुल मतदता रहेका थिए । तीमध्ये प्रत्यक्षतर्फ ९० लाख ४४ हजार नौ सय आठ अर्थात् ७४ दशमलव ४६ प्रतिशत मत खसेको थियो । समानुपातिकतर्फ ९४ लाख ६३ हजार आठ सय ६२ मत खसेको थियो ।
प्रतिनिधिसभा निर्वाचन–२०७४
नयाँ संविधान जारी भएपछि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कुल मतदाता एक करोड ५४ लाख २८ हजार एक सय ६० रहेकोमा कुल सदर मत एक करोड पाँच लाख ८१ हजार छ सय ८७ थियो । त्यतिबेला कुल बदर मत चार लाख ५० हजार चार सय ८४ थियो । त्यस निर्वाचनमा कुल प्रतिशत मत ६८.५९ रहेको थियो ।
यसैगरी समानुपातिकतर्फ कुल सदर मत एक करोड पाँच लाख ५० हजार पाँच सय २० रहेकोमा बदर मत १५ लाख ३१ हजार दुई सय २३ थियो । कुल ६८.३८ प्रतिशत मत खसेको थियो ।
प्रतिनिधिसभा निर्वाचन–२०७९
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कुल मतदाता एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० थिए । जम्मा खसेको मत एक करोड ५६ लाख ६७ अर्थात् ५८.७ प्रतिशत मत खसेको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाअघि भएको तीनवटा संसदीय निर्वाचनमा ६५ प्रतिशतमाथि मत खसेको थियो । २०७० सालमा सबैभन्दा मत खसेको थियो ।
आम निर्वाचन, २०४८ मा एक करोड ११ लाख ९१ हजार सात सय ७७ जना मतदात, आम निर्वाचन, २०५१ मा एक करोड २३ लाख २७ हजार तीन सय २९ जना मतदान र आम निर्वाचन, २०५६ मा एक करोड ३५ लाख १८ हजार आठ सय ३९ जना मतदात रहेका थिए ।
आम निर्वाचन, २०४८ मा ६५.१ प्रतिशत अर्थात् ७२ लाख ९१ हजार ८४ मत खसेको थियो, आम निर्वाचन, २०५१ मा ६१.८६ प्रतिशत अर्थात् ७६ लाख २५ हजार तीन सय ४८ मत खसेको थियो र आम निर्वाचन, २०५६ मा ६५ दशमलव ७९ प्रतिशत अर्थात् ८८ हजार ९४ हजार पाँच सय ६६ मत खसेको थियो ।
उक्त निर्वाचनहरूमा क्रमशः आम निर्वाचन, २०४८ मा ९५ दशमलव ५८ प्रतिशत ६९ लाख ६९ हजार ६१ मत सदर भएको थियो, आम निर्वाचन, २०५१ मा ९६ दशमलव ८४ प्रतिशत अर्थात् ७३ लाख ८४ हजार दुई सय ७७ मत सदर भएको थियो र आम निर्वाचन, २०५६ मा ९७ दशमलव २५ प्रतिशत अर्थात् ८६ लाख ४९ हजार छ सय ६४ मत खसेको थियो ।
उक्त तीनवटा निर्वाचनमा क्रमशः बदर मत प्रतिशत क्रमशः चार दशमलव ४२ प्रतिशत, तीन दशमलव १६ प्रतिशत र दुई दशमलव ७५ प्रतिशत रहेको थियो ।