काठमाडौं । बिहीबार देशैभर मतदाताको उत्साहजनक सहभागितामा मतदान कार्यक्रम सम्पन्न भए पनि केही केन्द्रहरुमा भने बहिष्कार गरिएको छ । ओखलढुंगा, दाङ, दोलखा र दार्चुलाका केही केन्द्रहरुमा मतदाताले मतदान बहिष्कार गरेका हुन् ।
ओखलढुंगा, मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित ७०१ जना मतदाता रहेको शहीद स्मृति आधारभूत विद्यालय केन्द्रमा प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै स्थानीयले मतदान बहिष्कार गरेका थिए । त्यसैगरी दाङमा बाँके राष्ट्रिय निकुबञ्जको मध्यवर्ती क्षेत्र बबइ गाउँपालिका–७ स्थित ६८२ मतदाता रहेको देउती मावि मलई मतदान केन्द्र र बबई— स्थित ५३० मतदाता रहेको जनता आधारभूत विद्यालयको केन्द्रमा लामो समयदेखि बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत पीडितहरुले पनि मतदान गरेनन् ।
उता दोलखामा गौरीशंकर गाउँपालिका–९ वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा ११३ जना मतदाता रहेकोमा कोही पनि मतदाता मतदान प्रक्रियामा सहभागी भएनन् । त्यसैगरी गौरीशंकर संरक्षण क्षेत्रमा अत्यावश्यक समयमा हेली ल्याउन समेत नितिगत समस्याहरु भएकोले मानिसको मृत्यु भैसक्दा समेत प्रक्रिया पूरा गर्न ढिलासुस्ती हुने जस्तो गुनासोसहित ‘निर्वाचन वहिष्कार गरौँ’ भन्दै स्थानिय गुम्बा प्रमुख न्वाङ तेन्जिङ लामाको नेतृत्वमा १० जनाको समुहले निर्वाचन अधिकृत लोकेन्द्र सिहंलाई निर्वाचन बहिष्कार पत्र बुझाइएको थियो ।
यता दार्चुलामा ३४६ जना मतदाता रहेको अपिहिमाल गाउँपालिका–३ दुधिला आधारभूत विद्यालय झुस्कुमा मतदाताले मतदान नगर्ने निर्णय गरेका थिए । सोही कारण मतदान प्रकृयामा कोहि पनि सहभागी भएनन् । निर्वाचन आयोगका अनुसार बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ । अघिल्लो निर्वाचनभन्दा कम मत खसेको आयोगले जनाएको छ । ०७९ मा ६१ प्रतिशत मत खसेको थियो ।