काठमाडौं । निर्वाचन अयाोगले देशभर बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताएको छ । आयोगले बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य विहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको बताएको हो ।
आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले दोलखा, सर्लाही र रौतहटमा क्षणिक विवाद देखिए पनि अन्य स्थानहरूमा समस्या नभएको बताइन् । उनले दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवादपछि समाधान भएको थियो । केहीबेर मतदान स्थगनपछि दोलखाको तामाकोशी–४ स्थित मालु मतदानस्थलमा मतदान गरिएको उनले बताइन् ।
आयुक्त तुलाधरले काठमाडौं उपत्यकाका साथै दुर्गममा समेत उत्साहजनक रुपमा मतदान सम्पन्न भएको बताइन् । ‘काठमाडौं उपत्यकालगायत विभिन्न शहरी इलाकाहरूमा मतदान सहजरूपमा सम्पन्न भयो भने दुर्गम जिल्लाका विकट स्थानमा मतदान सम्पन्न भई मतपेटिका ढुवानीको तयारी गरिएको छ’, उनले भनिन्, ‘ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम (पूर्वी भाग) लगायतका दुर्गम १५ वटा जिल्लाका विकट क्षेत्रबाट हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिने छ ।’
आयोगका अनुसार दुर्गम १५ जिल्लाका विकट क्षेत्रवाट हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिनेछ । जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम (पूर्वी भाग)का सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणना स्थलमा पुर्याउने लक्ष्य छ भने संखुवासभा, सोलुखुम्बु, गोरखा र रुकुम (पश्चिम भाग), मनाङ तथा बाजुरा र हुम्लाका मतपेटिका शुक्रबार बिहानसम्म सम्बन्धित मतगणना स्थलमा पुर्याइनेछ ।
देशभरबाट प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको आयोगले प्रारम्भिक अनुमान गरेको छ । यसको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ । मतदानका लागि तोकिएको समयभित्र मतदान केन्द्रमा प्रवेश गरेका केही केन्द्रहरूमा मतदानको कार्य जारी रहेको जानकारी सम्बन्धित निर्वाचन क्षेत्रवाट प्राप्त भएको छ । छिटफुट अवरोधका घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक विवरणबाट समेत प्राप्त भएको छ ।
मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षितरूपमा संकलन भएपछि मतगणना कार्य तत्काल सुरु हुनेछ । दुर्गम १५ जिल्लाका विकट क्षेत्रबाट हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिनेछ । जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम (पूर्वी भाग)का सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणनास्थलमा पुर्याउने लक्ष्य छ भने संखुवासभा, सोलुखुम्बु, गोरखा र रुकुम (पश्चिम भाग), मनाङ तथा बाजुरा र हुम्लाका मतपेटिका शुक्रबार बिहानसम्म सम्बन्धित मतगणना स्थलमा पुर्याइनेछ ।
आयोगले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा उत्साहजनकरूपमा सम्पन्न गराउने कार्य आफैँमा चुनौतीपूर्ण रहेको भन्दै सयोगीहरूलाई धन्यावाद व्यक्त गरको छ । आयुक्त तुलाधारले निर्वाचन कार्यमा सहयोग, सहकार्य र समन्वयका लागि निर्वाचन आयोग नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, आम मतदाता, पर्यवेक्षक संस्थाहरू, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक आभारसहित धन्यवादज्ञापन गर्दछु । प्रतिनिधिमूलक लोकतन्त्रको यस उत्सवमा सहभागी भई आफ्नो मताधिकारमार्फत प्रतिनिधि चुन्ने, कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा संलग्न हुने एवं सरकार निर्माण तथा शासन सञ्चालनमा सहभागी हुने प्रक्रियालाई पूर्णता दिएकोमा सम्पूर्ण मतदातामा आयोग हार्दिक धन्यवाद व्यक्त गर्दछ’, उनले भनिन् ।
आयोगका अनुसार यो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गरेका छन् ।
प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, तीन सय ८८ महिला र एक अन्य गरी तीन हजार चार सय छ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार सात सय ७२ महिला गरी तीन हजार एक सय ३५ उम्मेदवार प्रतिस्पर्धा गरेका हुन् । प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ एक सय १० स्थानका लागि निर्वाचन भएको हो । यस निर्वाचनमा ९६ लाख ६३ हजार तीन सय ५८ पुरुष, ९२ लाख ४० हजार एक सय ३१ महिला र दुई सय अन्य गरी एक करोड ८९ लाख तीन हजार छ सय ८९ मतदाता छन् । निर्वाचनमा एक लाख ८६ हजार एक सय ४२ अस्थायी मतदाता कायम छन् ।
निर्वाचनका लागि देशभर १० हजार नौ सय ६७ मतदानस्थलमा २३ हजार एक सय १२ मतदान केन्द्र निर्धारण गरिएको थियो । एक सय ४३ अस्थायी मतदानस्थल तय भएका थिए । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको थियो । निर्वाचन सुरक्षाका लागि ७९ हजार सात सय २७ नेपाली सेना, ७५ हजार सात सय ९७ नेपाल प्रहरी, ३४ हजार पाँच सय ६७ सशस्त्र प्रहरी बल, एक हजार नौ सय २१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका थिए ।