देशमा चुनावको माहोल सकिएसँगै अब नतिजा पनि चाँडै नै सार्वजनिक हुन गइरहेको छ । लोकतन्त्रमा चुनाव केवल सत्ता परिवर्तनको माध्यम मात्र होइन, जनताको आशा, विश्वास र भविष्यसँग जोडिएको पवित्र प्रक्रिया हो । चुनावमा जीत र हार स्वाभाविक कुरा हो । तर हार्नेले जित्नेलाई बधाई तथा शुभकामना दिनु र जित्नेले हार्नेलाई सम्मानपूर्वक व्यवहार गर्नु नै सच्चा लोकतान्त्रिक संस्कार हो । विजयी पक्षले आफूलाई मत दिने र नदिने सबै नागरिकलाई समान दृष्टिले हेर्नुपर्छ । जनतालाई खुसी राख्नु, उनीहरूको अपेक्षा बुझ्नु र राज्य सञ्चालनलाई पारदर्शी बनाउनु नेतृत्वकर्ताको पहिलो कर्तव्य हो ।
नेतृत्व दिने व्यक्तिले देशलाई सही दिशामा अगाडि बढाउने, दीर्घकालीन सोचसहित विकासको मार्गचित्र तयार गर्ने र स्थायित्व प्रदान गर्ने क्षमता राख्नुपर्छ । जनताको खुसी नै राज्यको वास्तविक समृद्धि हो । देशमा सबै नागरिकले सुरक्षित रूपमा बाँच्न, हाँस्न, रोजगारी गर्न र आत्मसम्मानका साथ जीवनयापन गर्न पाउनुपर्छ । केवल रेमिटेन्स आएकोमा खुसी हुनु पर्याप्त हुँदैन; आफ्नै भूमिमा अवसर सिर्जना गरेर नागरिकलाई यहीँ बस्न, काम गर्न र भविष्य निर्माण गर्न सक्ने वातावरण बनाउनु आजको आवश्यकता हो ।
अब आउने नेतृत्वकर्ताले देश र जनताको दीर्घकालीन हितका लागि निम्न लिखित कार्यहरूलाई प्राथमिकतामा राख्नुपर्छः
१. बन्द तथा धरासायी उद्योगहरू पुनः सञ्चालन गर्न गम्भीर पहल गर्नुपर्छ । आर्थिक मन्दी, अव्यवस्था वा नीतिगत कमजोरीका कारण बन्द भएका उद्योगहरूलाई सहुलियत, प्राविधिक सहयोग र लगानीमैत्री वातावरण उपलब्ध गराएर पुनर्जीवित गर्नुपर्छ ।
२. साना तथा मझौला उद्योग सञ्चालन गर्न प्रोत्साहन दिनुपर्छ । साना उद्योगहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्छन् । भएका उद्योगीलाई सम्मान, सुरक्षा र करमा सहुलियत दिई उद्यमशीलता बढाउनुपर्छ ।
३. पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन रणनीति आवश्यक छ । प्राकृतिक सम्पदा, हिमाल, ताल, संस्कृति र परम्परालाई विश्व बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्छ । पर्यटकको सुरक्षा, सुविधा र सन्तुष्टि सुनिश्चित गर्नुपर्छ ।
४. स्थानीय उत्पादनलाई प्राथमिकता दिई स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्छ । ‘आफ्नो उत्पादन, आफ्नै प्रयोग’ भन्ने अभियान सञ्चालन गरी आयातमा निर्भरता घटाउनुपर्छ ।
५. देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन आधुनिक कृषि प्रणाली लागू गर्नुपर्छ । उन्नत बीउ, सिँचाइ व्यवस्था, भण्डारण र बजार व्यवस्थापनलाई सुदृढ बनाउनुपर्छ ।
६. ऊर्जामा आत्मनिर्भर भई जलविद्युत्, सौर्य र अन्य वैकल्पिक ऊर्जाको विकास गर्नुपर्छ । ऊर्जा निर्यातमार्फत राष्ट्रिय आय वृद्धि गर्न सकिन्छ ।
७. प्रतिव्यक्ति आय वृद्धि गर्ने कार्यक्रम ल्याई उत्पादनशील क्षेत्रलाई प्रोत्साहन दिनुपर्छ । रोजगारी सिर्जना र सीप विकासलाई जोड दिनुपर्छ ।
८. शिक्षाको गुणस्तर सुधार गरी व्यवहारिक, वैज्ञानिक र नैतिक शिक्षा प्रदान गर्नुपर्छ । शिक्षालाई केवल प्रमाणपत्रमा सीमित नराखी जीवनोपयोगी बनाउनुपर्छ ।
९. बालबालिकाको स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिनुपर्छ । कुपोषण नियन्त्रण, निःशुल्क आधारभूत शिक्षा र सुरक्षित विद्यालय वातावरण सुनिश्चित गर्नुपर्छ ।
१०. गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, आवास र शैक्षिक सामग्री उपलब्ध गराई अध्ययनमा सहयोग गर्नुपर्छ ।
११. शारीरिक अपाङ्गता भएका नागरिकका लागि विशेष सुविधा, पहुँचयुक्त संरचना र सीपमूलक तालिमको व्यवस्था गर्नुपर्छ । वृद्ध तथा बिरामीको उपचार र हेरचाहमा राज्यले विशेष ध्यान दिनुपर्छ ।
१२. सहरलाई व्यवस्थित, सफा, सुन्दर र हराभरा बनाउन हरित योजना लागू गर्नुपर्छ । सार्वजनिक पार्क, वृक्षारोपण र खुला स्थानको संरक्षण गर्नुपर्छ ।
१३. सुरक्षा व्यवस्थालाई अत्यन्त गम्भीर रूपमा लिनुपर्छ । नागरिकको ज्यान, धन र स्वतन्त्रताको सुरक्षा राज्यको प्रमुख दायित्व हो ।
१४. काठमाडौँ लगायत ठूला सहरहरूमा ट्राफिक व्यवस्थापन आधुनिक प्रविधिबाट गर्नुपर्छ । ट्राफिक लाइट, सीसीटीभी, सडक बत्ती जडान गरी लेन अनुशासन लागू गर्नुपर्छ र अनावश्यक हर्न निषेध गर्ने नीति अवलम्बन गर्नुपर्छ ।
१५. सार्वजनिक बस सेवालाई वैज्ञानिक र समयतालिका आधारित बनाउनुपर्छ । यात्रुलाई सुरक्षित, सुलभ र भरपर्दो सेवा दिनुपर्छ ।
१६. फोहर व्यवस्थापनलाई दिगो र वातावरणमैत्री ढंगबाट सञ्चालन गर्नुपर्छ । पुनर्चक्रण, वर्गीकरण र जनचेतना अभियान आवश्यक छन् ।
१७. विश्व सम्पदा सूचीमा रहेका मठमन्दिर, सांस्कृतिक धरोहर र ऐतिहासिक संरचनाको संरक्षण र प्रचारप्रसार गर्नुपर्छ ।
१८. पर्यटक विस्तार र सन्तुष्टि बढाउन नयाँ नीति, गुणस्तरीय सेवा र आतिथ्य संस्कार विकास गर्नुपर्छ ।
१९. खोला–नाला सफा राख्ने दीर्घकालीन अभियान सञ्चालन गर्नुपर्छ । अवैध ढल निकास रोक्न कडा कानुनी व्यवस्था गर्नुपर्छ ।
२०. युवालक्षित कार्यक्रम, स्टार्टअप प्रोत्साहन र सीप विकास तालिम सञ्चालन गर्नुपर्छ । युवालाई देशमै अवसर दिनुपर्छ ।
२१. सामाजिक उत्तरदायित्व वहन गर्ने संस्कार विकास गर्न नागरिक सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
२२. खेलकुदको विकासका लागि पूर्वाधार, प्रशिक्षण र अन्तर्राष्ट्रिय सहभागितामा लगानी गर्नुपर्छ ।
२३. शिक्षामा समान अवसर सुनिश्चित गर्न दुर्गम क्षेत्रका विद्यालयलाई विशेष सहयोग दिनुपर्छ ।
२४. विकट तथा पहाडी क्षेत्रमा एकीकृत बस्ती विकास गरी आधारभूत सेवा उपलब्ध गराउनुपर्छ ।
२५. बाँझो जग्गाको पहिचान गरी उत्पादनमूलक प्रयोगमा ल्याउन नीति लागू गर्नुपर्छ ।
२६. जथाभावी बस्ती विकास रोक्दै योजनाबद्ध स्मार्ट सिटी निर्माण गर्नुपर्छ ।
२७. प्राविधिक शिक्षाको विस्तार गरी उद्योगसँग जोडिएको तालिम प्रणाली लागू गर्नुपर्छ ।
२८. आधुनिक कृषि प्रविधि प्रयोग गरी कृषि क्षेत्रलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउनुपर्छ ।
२९. बाँझो जमिनमा वृक्षारोपण वा व्यावसायिक खेती गर्न प्रोत्साहन दिनुपर्छ ।
३०. वितरण प्रणालीलाई वैज्ञानिक, पारदर्शी र डिजिटल प्रविधिमा आधारित बनाउनुपर्छ ।
३१. चाडपर्वमा हुने कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न बजार अनुगमन सशक्त बनाउनुपर्छ ।
३२. विदेशमा रहेका नेपालीको सीप, पुँजी र अनुभवलाई देशमै प्रयोग गर्न पुनरागमन कार्यक्रम ल्याउनुपर्छ ।
३३. शिक्षित बेरोजगारलाई उद्यमशीलता र रोजगारीका अवसर उपलब्ध गराउन विशेष योजना ल्याउनुपर्छ ।
३४. स्वदेशी वस्तुको प्रयोगलाई राष्ट्रिय अभियानको रूपमा अगाडि बढाउनुपर्छ ।
३५. ट्रलीबसजस्ता विद्युतीय सवारी साधन पुनः सञ्चालन गरी वातावरणमैत्री यातायात विकास गर्नुपर्छ । रोपवे जस्ता माध्यमबाट सामान ढुवानी प्रणाली विस्तार गर्नुपर्छ ।
३६. सुरुङ मार्ग र निर्माणाधीन राजमार्गहरू समयमै सम्पन्न गर्न उच्च प्राथमिकता दिनुपर्छ ।
३७. सरकारी विश्वविद्यालयहरूलाई राजनीतिमुक्त, चुस्त र गुणस्तरीय बनाउँदै वार्षिक क्यालेन्डरअनुसार पठनपाठन सञ्चालन गर्नुपर्छ ।
३८. प्रकृतिको संरक्षण, वन जोगाउने, जलस्रोत बचाउने र प्रदूषण नियन्त्रणमा कठोर नीति लागू गर्नुपर्छ ।
३९. जनताले तिरेको करको पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्छ ।
४०. कर्मचारीतन्त्रमा सेवा भावना विकास गरी राजनीतिक हस्तक्षेप हटाउनुपर्छ ।
४१. भ्रष्टाचारलाई जरैदेखि उखेलेर सुशासन कायम गर्न कठोर कानुनी कारबाही लागू गर्नुपर्छ ।
४२. आजको मागअनुसारको शिक्षा विकास गरी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने ।
यदि नेतृत्व इमानदार, दूरदर्शी, उत्तरदायी र नैतिक भयो भने नेपाल र नेपाली अवश्य सक्षम बन्न सक्छन् । सक्षम नेपाल भनेको केवल भौतिक संरचना होइन; सक्षम नागरिक, समान अवसर, सामाजिक न्याय, नैतिक शासन र समृद्ध अर्थतन्त्र हो ।
जब राज्य, नेतृत्व र नागरिक सबै आ–आफ्नो कर्तव्यप्रति सचेत र जिम्मेवार बन्छन्, तब मात्र राष्ट्र सुदृढ बन्छ । त्यसैले नेपाल र नेपाली सक्षम हुनका लागि नीति, निष्ठा र प्रयास तीनैको समन्वय अपरिहार्य छ ।
आशा छ, देश विकासको बाटोमा अबको नेतृत्वले सही बाटो अघि बढाउने छ । जसको सरकार आए पनि केवल गफ होइन, काम गर्ने नेतृत्व आउने छ र नेपाली जनता सुखको अनुभूति गरी समृद्ध नेपालमा बस्न पाउने छन् ।