काठमाडौं । धितोपत्रको कुल बजार पुँजीकरण बढेको छ । नेपाल राष्ट्र बैकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण बढेर ४४ खर्ब ३५ अर्ब तीन करोड रुपैयाँ कायम भएकोे हो । यो पुँजीकरण गत आवको सोही अवधिको तुलनामा झण्डै एक खर्ब रुपैयाँ ले बढी हो । २०८१ पुस मसान्तमा बजार पुँजीकरण ४३ खर्ब दुई अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार बजार पुँजीकरण बढेको आधारमा २०८१ पुस मसान्तमा २५ सय ९४ दशमलव १३ रहेको नेप्से सूचकांक २०८२ पुस मसान्तमा २६ सय ४१ दशमलव ४४ अंकमा कायम भएको छ । २०८१ को पुस मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७५ दशमलव ३७ प्रतिशत रहेकोमा २०८२ पुसमा ७२ दशमलव ६२ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार २०८२ पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय ८४ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये एक सय ३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत् कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, आठवटा होटल, सातवटा लगानी कम्पनी, चारवटा व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८१ पुसमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय ६७ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२ दशमलव तीन प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५ दशमलव दुई प्रतिशत, लगानी कम्पनीको हिस्सा सात दशमलव ४३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा छ दशमलव नौ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा चार दशमलव आठ प्रतिशत, होटेलको हिस्सा तीन दशमलव एक प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १० दशमलव चार प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ पुस मसान्तमा सूचीकृत नौ अर्ब २२ करोड सेयरको चुक्ता मूल्य नौ खर्ब आठ अर्ब ५० करोड रहेको छ । आर्थिक वर्ष २०८२/८३ को छ महिनामा २१ अर्ब ९६ करोड बराबरको साधारण सेयर, नौ अर्ब ६४ करोड बराबरको हकप्रद सेयर, छ अर्ब २५ करोड बराबरको म्युचुअल फन्ड, छ अर्ब २५ करोड बराबरको बोनस सेयर, तीन अर्ब ४० करोड बराबरको डिबेन्चर र ९२ करोड ५० लाख बराबरको एफपीओ लगायत गरी कुल ४८ अर्ब ४४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ८३ करोड बराबरको म्युचुअल फन्ड, पाँच अर्ब ५५ करोड बराबरको साधारण सेयर र तीन अर्ब ७८ करोड बराबरको हकप्रद सेयर गरी कुल २१ अर्ब १५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।