काठमाडौं । ‘यो चुनाव सफल हुनुपर्छ र देशले निकास पाउनुपर्छ’, काठमाडौंको अनामनगर निवासी वासुदेव गिरीले भने । पञ्चायतकालदेखि काठमाडौंको निर्वाचनमा सहभागी भएको अनुभव सँगालेका उनलाई सुरुमा निर्वाचन होला वा नहोला भन्ने चिन्ता थियो ।
यही चिन्ताका बीच आज बिहान ७ः०० बजेदेखि देशभरका १६५ निर्वाचन क्षेत्रमा उत्साहपूर्वक मतदान भइरहेको सुनेपछि उनी पनि उत्साहित भए । जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं १ को साविक मिलन विद्या मन्दिर मतदान केन्द्रमा आफ्नी श्रीमतीसहित मतदान गरेपछि ज्येष्ठ नागरिक गिरीले भने, ‘मुलुकमा शान्ति, अमनचयन, सुशासन र समृद्धि चाहिएको छ । यसका लागि सबै मतदाताले आफ्नो विवेक प्रयोग गरिरहेका छन् । यसले म पनि उत्साहित छु ।’
नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघका पूर्वअध्यक्ष गिरीले २०४३ सालमा भएको निर्वाचनमा काठमाडौंमा जम्मा दुई निर्वाचन क्षेत्र रहेको बेलादेखि यहाँबाट मतदान गर्दै आएका छन् । त्यसबेला राजनीतिक दलका तर्फबाट उम्मेदवार नभई स्वतन्त्र उम्मेदवार रहने गरेकामा त्यसबेला वीरेन्द्र श्रेष्ठ तथा पद्मरत्न तुलाधर विजयी भएको गिरीको सम्झनामै छ । ‘त्यसबेला र अहिलेको समयमा धेरै बदलाव आइसकेको छ । अहिले दश निर्वाचन क्षेत्र छन् । जनसंख्या पनि धेरै वृद्धि भएको छ । देश विकासको यात्रा अघि बढे पनि अस्थिरता बढेकामा भने चिन्ता लागिरहेको छ’, उनले भने । उनी यसपटकको निर्वाचनबाट पनि राजनीतिक स्थिरता कायम भई विकासले थप गति लिने आशामा छन् ।
‘शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको छ । सबै राजनीतिक दल, उम्मेदवार र मतदाताले सौहार्दता अपनाएमा निर्वाचन सफल हुन्छ । अवकाशप्राप्त जीवनमा मेरो त अरु अपेक्षा छैन, देशले निकास पाओस्’, गिरीले भने ।
काठमाडौं निर्वाचन क्षेत्र नं १, अनामनगरस्थित काठमाडौं महानगरपालिका–२९ मतदान केन्द्रका मतदाता राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रचार गरिए जस्तो मतदानमा ठूलो भीडभाड नदेखिएको प्रतिक्रिया दिए ।
‘मुलुकमा बाध्यात्मक अवस्थामा निर्वाचन भएको छ । स्थिरता, सुशासन र रोजगारीको समस्या जर्जर छ । त्यसैका आधारमा जेन–जी विद्रोह पनि भयो, तर निर्वाचनले ती माग र आवाजलाई पूर्णरूपमा सम्बोधन हुने गरी परिणाम दिन्छ कि दिन्न भन्ने अन्योल छ’, उनले भने ।
त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक डा. केसीले नयाँ, पुराना दल र उम्मेदवार जे–जे भने पनि जितेर आउनेले इमानदार भएर जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।
उक्त मतदान केन्द्रका मतदान अधिकृत रमेश भट्टराईले मतदाताले उत्सापूर्वक सहभागिता जनाइरहेको बताए । उनले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, सुत्केरी, गर्भवतीलाई लाइन बस्न नपर्ने गरी प्रबन्ध गरिएको जानकारी दिए ।
काठमाडौंका सबै क्षेत्रमा आज साँझ नै मतपेटिका संललन भई सर्वदलीय सहमति भएमा आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी रहेको छ । काठमाडौं निर्वाचन क्षेत्र ४ का निर्वाचन अधिकृत कृष्णा भण्डारीले दिउँसो ३ः३० बजेसम्म उत्साहपूर्वक मतदान भएको जानकारी दिए । निर्वाचनमा खटिएका कर्मचारी पनि उत्साहित रहेको जनाउँदै उनले यस क्षेत्रको काठमाडौं महानगरपालिकाका वडामा भन्दा बुढानीलकण्ठ नगरपालिकाका वडा र स्थलमा बढी मतदान भएको बताए ।
निर्वाचन अधिकृत भण्डारीले आफूहरू अधिकांश मतदानस्थलमा स्थलगत अवलोकनमा पनि भएको र बुढानीलकण्ठ नगरपालिकाको जय भद्रकाली मतदानस्थलमा यतिबेलासम्म करिब ६० प्रतिशत मतदान भएको जानकारी दिए ।
झापामा मतगणना सुरु
प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेका छ ।
निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका संकलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जानकारी दिए । उनले राति १२ बजेदेखि मतगणता सुरु हुने जानकारी दिए । जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान भएको छ । पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार चुनावी मैदानमा थिए । यहाँ तीन लाख ५८ हजार तीन सय ४६ पुरुष, तीन लाख ५५ हजार एक सय ८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार पाँच सय ३७ मतदाता थिए ।