दमौली, प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डा स्वर्णिम वाग्ले विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार ३८ हजार ४० मत प्राप्त गरी वाग्ले विजयी भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए।
उनका अनुसार प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरेको छ । यस्तै नेकपा (एमाले)का भगवती न्यौपानेले पाँच हजार आठ सय ३० मत र नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले दुई हजार तीन सय ९३ मत प्राप्त गरेका छन् ।
यस निर्वाचन क्षेत्रमा एक लाख २६ हजार आठ सय ८२ मतदाता रहेकामा ६८ हजार एक सय २९ मत खसेको थियो । डा वाग्ले तनहुँ क्षेत्र नम्बर १ मा दोस्रो पटक निर्वाचित भएका हुन ।विसं २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा डा. वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका थिए । त्यतिबेला पनि उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई हुनुहुन्थ्यो । भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका थिए।
को हुन् वाग्ले ?
विसं २०३१ मा गोरखाको बुङ्कोटमा जन्मिनुभएका डा वाग्ले विसं २०८० वैशाखमा भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।राष्ट्रिय योजनाको आयोगको सदस्य, उपाध्यक्षका रुपमा काम गर्नुभएका वाग्लेले युनडिपी एशिया प्रशान्तका प्रमुख आर्थिक सल्लाहकारको रुपमा काम गर्नुभएको अनुभव छ । लण्डन स्कुल अफ इकोनमिक्स, हावर्ड विश्वविद्यालय र अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरेका वाग्ले विसं २०७१ मा नेपाल फर्किएका थिए । वाग्ले नेपालका चर्चित अर्थशास्त्री, नीतिविज्ञ तथा राजनीतिज्ञ हुन । उनी आर्थिक नीति, विकास योजना र सार्वजनिक नीतिमा गहिरो अध्ययन र अनुभव भएका व्यक्तिका रूपमा परिचित छन् । रासस