काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ क्षेत्रमै पहिलो हुने निर्वाचित हुने तर्फको मतगणना जारी छ ।
फागुन २१ गते मतदान सकिएसंगै मतगणनाको कार्य सुरु गरिएको थियो । निर्वाचन आयोगका अनुसार उच्च हिमाली क्षेत्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्न मौसमले साथ नदिएपछि केही क्षेत्रको मतगणना सुरु गर्न ढिलाइ भएको थियो । पछिल्लोपटक हेलिकप्टरबाट ढुवानी गरिएका संखुवासभा र गोरखाको मतगणना शनिबार बिहानदेखि सुरु भइसकेको छ भने मुगु जिल्लाको पनि शनिबार साँझबाट सुरु भएको छ ।
मुगुमा मानिसले बोकेर मतपेटिका ढुवानी गरेपछि मतगणना सुरु भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए । उनका अनुसार आइतबार साँझसम्म प्रत्यक्षतर्फको सबै मतपरिणाम सार्वजानिक गर्नेगरी मत गणना भइरहेको छ । प्रत्यक्षतर्फ मतगणना सकिएका क्षेत्रमा समानुपातिकमा पनि गणना सुरु भएको छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रत्यक्ष र समानुपातिक दुर्वतर्फको मतगणना गरेपछि आयोगको प्रणालीमा तथ्यांक प्रविष्टि गर्ने गरिएको छ । प्रत्यक्षतर्फ आइतबार बेलुकीसम्म १६५ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुने गरी गणना भइरहेको आयोगले जनाएको छ ।