काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुशासन कायम गर्न सफल भएको बताएका छन् ।
निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आइतबार आयोजित निर्वाचन सुरक्षा समीक्षापछि प्रतिक्रिया दिँदै उनले राजनीतिक सुशासनको जग निर्वाचन सुशासन भएकोले यसपटकको निर्वाचनमा त्यो सम्भव भएको बताए । वर्तमान सरकार फागुन २१ गते निर्वाचन गराउनैका लागि गठन भएकाले सोही अनुसार स्वच्छ र निष्पक्ष निर्वाचन गराएर कार्यभार सम्पन्न गराउने मार्गमा अघि बढेको उनको भनाइ छ ।
‘हिंसा नभई निर्वाचन सम्पन्न भएको छ, सुदृढ सुरक्षा व्यवस्थाबीच निर्वाचन गराउने दायित्व सरकारले पूरा गरेको छ, यो निर्वाचनमा अरुका नाममा मतदान पनि भएन, समयमा निर्वाचन गराउन सरकारका सबै अङ्ग समन्वयात्मक रूपमा क्रियाशील भए, गृह मन्त्रालयमा सामूहिक नेतृत्वको अभ्यास गरी निर्वाचन समन्वयात्मक रुपमा सफल भयो, केन्द्र, प्रदेश र वडा तहसम्म समन्वयात्मक एकीकृत सुरक्षा योजनाअन्तर्गत काम भयो, नेतृत्वमा विकेन्द्रीकरण गरेर निर्वाचन सम्पन्न भयो’, उनले भने । निर्वाचन कार्यतालिका अनुसार निर्वाचन सम्पन्न गराउन आयोगले नेतृत्वदायी भूमिका खेलेको उनले बताए ।