काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले अब बन्ने सरकारले बदलाको भावना नलिईकन आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने बताएका छन् ।
आइतबार निर्वाचन आयोगमा भएको समीक्षा बैठकपछि उनले नयाँ बन्ने सरकारलाई जनतालाई सहज सेवा दिएर उन्नतीको बाटोमा लैजान सुझाव दिएका हुन् । मन्त्री सिन्हाले निर्वाचित सांसदको बैठक बोलाउन संसदीय मामिला मन्त्रालयले न्यूनतम आवश्यकता पूरा गर्ने बताए । सिंहदरबारभित्र निर्माणाधिन नयाँ संसद् भवनमै संसद्को पहिलो बैठक बोलाउने गरी तयारी भइरहेको उनको भनाइ छ । सोमबारदेखि नै संसद्को अधिवेशन तयारीका लागि थप काम गरिने उनले जानकारी दिए । साथै उनले वर्तमान सरकार विषम परिस्थितिमा निर्वाचन गराउन सफल भएको बताए । विषम अवस्थामा निर्वाचन गराउने दायित्वसहित गठन भएको सरकारले मुख्य काम सम्पन्न गरेको उनको भनाइ छ । सुरक्षा निकायको समन्वय र सरकारले स्रोत, साधनको समयमै व्यवस्था गरिदिएर निर्वाचन सम्पन्न गराउन सहयोग गरेको उनले बताए ।
विभिन्न खालका दबाब आउँदा पनि आयोगले निर्वाचन कार्यतालिकामा हेरफेर नगरी काम गरेर समयमै निर्वाचन सम्पन्न गराउन नेतृत्वदायी भूमिका खेलेको उनले बताए । मतदानअघि सुरक्षा निकायलाई स्वार्थ अनुकूल परिचालन नगरे राम्रो परिणाम निस्कन्छ भन्ने यो निर्वाचनबाट देखिएको समेत उनको भनाइ छ । मन्त्री सिन्हाले निर्वाचनबाट असल संस्कृतिको सुरुवात भएको दाबी गरे । समीक्षा बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर राणा, आयोगका सचिव कृष्णबहादुर राउत, सुरक्षा निकायका प्रमुखलगायत उच्च अधिकारीहरूको सहभागिता थियो ।