काठमाडौं । गत भदौ २३ र २४ गतेको घटनावारे जाँचबुझ गर्न गठन भएको आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को बैठकमा पेस गरेपछि कार्यान्वयनको लागि निर्णय हुनेछ ।
आयोगले छानबिन गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न सिधा बाटो नदेखेपछि गोली रोक्न नसकेको अभियोगम कारबाही गर्न सिफारिस गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार गोली हान्न आदेश दिने, गोली हान्ने र गोली रोक्न नसकेको अभियोगमा छुट्टाछुट्टै कारबाही गर्न सिफारिस गरिएको छ ।
२३ गतेको आन्दोलनकारीलाई गोली हान्नका लागि तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दिएको नदेखिएपछि उनीहरूले गोली रोक्न नसकेको भनेर कारबाहीको सिफारिस गरिएको स्रोतको दाबी छ । गोली हान्न आदेश दिने र गोली हान्नेलाई कारबाही गर्ने चलन भए पनि गोली नरोकेको भनेर कारबाही सिफारिस गरिनुलाई कतिपयले पूर्वाग्रही भनेका छन् । यद्यपि प्रतिवेदन सार्वजनिक नभएको कारण के–के लेखिएको छ प्रस्ट भएको छैन ।
सरकारले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो । पटक–पटक म्याद थप गरेर आइतबार मात्र प्रतिवेदन बुझाइएको हो । आयोगले चुनावअघि नै प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर, राजनीतिक विवाद नहोस् भनेर रोकिएको थियो ।
स्रोतका अनुसार तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतमाथि पनि कारबाहीको सिफारिस गरिएको छ । तर, कस्तो कारबाही भन्ने खुलेको छैन । भदौ २४ गतेको दोषीमाथि कारबाही सिफारिस हुने हो भने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित केही सांसद पनि पर्ने सम्भावना छ ।