काठमाडौं । हायात प्लेस बुटवलले महिला कर्मचारीहरूको समर्पण, नेतृत्व क्षमता र संस्थागत सफलतामा पुर्याएको योगदानलाई सम्मान व्यक्त गरेको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर होटलले उनीहरुलाई सम्मान गरेको हो । होटलका अनुसार महिला कर्मचारीहरूले उत्कृष्ट अतिथि सत्कारदेखि व्यवस्थापन तहसम्म विभिन्न जिम्मेवारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै संस्थाको सेवा स्तरलाई विश्वस्तरीय बनाउन योगदान पुर्याइरहेका छन् । कम्पनीले महिला कर्मचारीहरूको सक्रिय सहभागिताले संस्थाको वृद्धि, सेवा गुणस्तर र ग्राहक सन्तुष्टिमा सकारात्मक प्रभाव पारेको जनाएको छ । होटल व्यवस्थापनले कार्यस्थलमा विविधता र समावेशीतालाई प्राथमिकता दिँदै आएको उल्लेख गरेको छ । हाल होटलमा ४७ जना महिला कर्मचारी कार्यरत छन्, जुन कुल कर्मचारी संख्याको करिब ३० प्रतिशत हो । यस अवसरमा होटलमा कार्यरत केही महिला नेतृत्वकर्ताहरूले पनि आफ्नो अनुभव व्यक्त गरेका छन् । मार्केटिङ म्यानेजर सिम्रन सापकोटाले होटलले महिलालाई नेतृत्व र रचनात्मक विचार अघि बढाउन प्रोत्साहन गर्ने वातावरण दिएको बताइन् । यस्तै एसोसिएट डाइरेक्टर अफ सेल्स निशा जी.टी.ले व्यापारिक क्षेत्रमा महिला नेतृत्वलाई संस्थाले विश्वास र सम्मान दिएको उल्लेख गरिन् ।
असिस्टेन्ट फ्रन्ट अफिस म्यानेजर कृति सिंहले होटलले सुरक्षित र सहयोगी कार्यवातावरण प्रदान गरेको बताइन् भने रिक्रिएसन म्यानेजर लाल्तानपुइले व्यवस्थापनले कर्मचारीहरूको व्यक्तिगत र व्यावसायिक जीवनबीच सन्तुलन कायम राख्न सहयोग गर्ने वातावरण निर्माण गरेको बताइन् । होटल व्यवस्थापनले आगामी दिनहरूमा पनि महिला सशक्तीकरणलाई थप प्रोत्साहन गर्ने र सुरक्षित, समावेशी तथा महिला–मैत्री कार्यवातावरण निर्माणमा निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।