काठमाडौं । नेपालमा सुर्ती नियन्त्रणसम्बन्धी कानुन भए पनि प्रभावकारी कार्यन्वयन हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइतवार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा सहभागीहरुले कानुनको कार्यन्वयनमा जोड दिएका हुन् । उनीहरुले सुर्तीजन्य पदार्थ नियन्त्रणमा उद्योगीहरूको बढ्दो हस्तक्षेपले महिलाहरुमा ठुलो असर पारेको बताए । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालका राष्ट्रिय संयोजक शान्तलाल मुल्मीले सुर्ती उद्योगले महिलालाई लक्षित गरी विभिन्न रणनीतिमार्फत बजार विस्तार गर्न खोजिरहेको बताए । उनका अनुसार सामाजिक सञ्जाल र चलचित्रमार्फत महिलाले सुर्ती सेवन गर्नु सामान्य हो भन्ने सन्देश फैलाइँदैछ भने धुम्रपानलाई लैङ्गिक समानता र आधुनिक जीवनशैलीसँग जोड्ने प्रयास भइरहेको छ । उनले ई–सिगरेट र भेप संस्कृतिमार्फत युवती तथा महिलालाई नयाँ किसिमका कुसंस्कारतर्फ धकेल्ने प्रयास भइरहेको पनि उल्लेख गरे ।
राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य सलोनी सिंहले सुर्ती उद्योगले महिलाको स्वतन्त्रता र आधुनिकताको छविलाई प्रयोग गर्दै बजार विस्तार गर्ने रणनीति अपनाउने गरेको बताइन् । ‘धुम्रपानलाई स्वतन्त्रता र आधुनिक जीवनशैलीसँग जोडेर प्रस्तुत गर्नु उद्योगको दीर्घकालीन मार्केटिङ रणनीति हो’, उनले भनिन् । स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार महिलामा सुर्ती सेवनको असर गम्भीर हुन सक्छ । धुम्रपानले क्यान्सर, मुटुरोग तथा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउनुका साथै गर्भावस्थामा पनि जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्छ । गर्भवती महिलाले सुर्ती प्रयोग गर्दा गर्भपतन, कम तौलका शिशु जन्मिने तथा समयअघि बच्चा जन्मिने जोखिम समेत बढ्ने चिकित्सकहरूको भनाइ छ ।
गैरसरकारी संस्था महासंघकी पूर्वअध्यक्ष सर्मिला कार्कीले सुर्ती उद्योगले नीति निर्माण प्रक्रियामा समेत प्रभाव पार्ने प्रयास गरिरहेको बताइन् । उनका अनुसार कर वृद्धि रोक्ने प्रयास, कानुन कार्यान्वयन कमजोर बनाउने चाल तथा नयाँ उत्पादनमार्फत बजार विस्तार गर्ने रणनीति उद्योगले अपनाउँदै आएको छ । वातावरणविद् डा. अनुसुया जोशीले नेपालमा सुर्ती नियन्त्रणसम्बन्धी कानुन भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन् । सार्वजनिक स्थानमा धुम्रपान निषेध, सुर्तीजन्य पदार्थको बिक्री नियन्त्रण तथा सामाजिक सञ्जालमार्फत हुने अप्रत्यक्ष प्रचार रोक्न अझ कडा कदम आवश्यक रहेको उनले बताईन् । सुर्ती सेवनले मानव स्वास्थ्य मात्र नभई वातावरणलाई समेत गम्भीर रूपमा प्रदूषित र क्षति पुर्याइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले सुर्ती उद्योगले सामाजिक सञ्जाल, लाइफस्टाइल मार्केटिङ, आकर्षक प्याकेजिङ तथा स्वादयुक्त उत्पादनमार्फत युवतीहरूलाई लक्षित गरी बजार विस्तार गर्न खोजिरहेको बताए । नेपालमा महिलामा सुर्ती प्रयोग पुरुषको तुलनामा कम भए पनि पछिल्ला वर्षहरूमा यसको स्वरूप बदलिँदै गएको उनीहरूको भनाइ थियो । विशेषगरी सहरी युवतीहरूबीच भेप तथा ई–सिगरेटजस्ता नयाँ उत्पादनप्रति आकर्षण बढ्दो देखिएको उनीहरूले औँल्याए । वक्ताहरूले विद्यालय तथा विश्वविद्यालय तहमा युवालाई लक्षित स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औँल्याए । विशेषगरी भेप र ई–सिगरेट सुरक्षित विकल्प होइन भन्ने सन्देश युवामाझ प्रभावकारी रूपमा फैलाउनुपर्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा सहभागीहरूले सुर्ती नियन्त्रणका लागि सरकार, नागरिक समाज, स्वास्थ्य क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । साथै सुर्तीजन्य पदार्थमा कर वृद्धि, स्वादयुक्त उत्पादनमा नियन्त्रण तथा युवालाई लक्षित प्रचार रोक्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।