काठमाडौं । सामसम नेपालले ग्यालेक्सी एआईद्वारा सञ्चालित ग्यालेक्सी एस२६ सिरिजको प्रि–बुकिङ खुला गरेको छ । कम्पनीले यो सिरिज सार्वजानिक गर्दै प्रि–बुकिङ खुला गरेको हो ।
ग्यालेक्सी एस२६ अल्ट्रा, ग्यालेक्सी एस२६ प्लस, र ग्यालेक्सी एस२६, नेपालमा मार्च १८ सम्म प्रि–अर्डरको लागि उपलब्ध हुने जनाईएको छ । कम्पनीका अनुसार यो फोन अहिलेसम्मकै सबैभन्दा सहज, स्मार्ट र अनुकूल हुने प्रविधिसहित तयार गरिएको छ । यो सिरिज मानिसहरूले आफ्नो फोनमा दैनिक गर्ने कामहरूलाई अझ सजिलो र सरल बनाउन डिजाइन गरिएको हो । तालिका व्यवस्थापन गर्नेदेखि लिएर कन्टेन्ट बनाउनेसम्म, ग्यालेक्सी एस२६ सिरिजले प्रयोगकर्ताहरूलाई प्राविधिक जटिलताहरूको सट्टा परिणामहरूमा ध्यान केन्द्रित गर्ने कुरा सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एस२६ अल्ट्रामा उद्योगमै पहिलोपटक इन–बिल्ट प्राईभेसी डिस्प्ले समावेश गरिएको छ, जसले प्रयोगकर्ताको स्क्रिन गोपनीयता सुरक्षित राख्छ । साथै सुधारिएको चिपसेट र थर्मल म्यानेजमेन्ट सिस्टमले स्लिम डिजाइनमै उच्च एआई प्रदर्शन उपलब्ध गराउने बताइएको छ । क्यामेरा पक्षमा पनि उल्लेखनीय सुधार गरिएको कम्पनीले जनाएको छ । यसमा फराकिलो अपर्चर, कम प्रकाशमा स्पष्ट भिडियोका लागि सुधारिएको नाईटोग्राफी भिडियो र स्थिर भिडियो क्याप्चरका लागि सुपर स्टेडी प्रविधि समावेश छन् । साथै उन्नत एआई आइएसपी प्रविधिले सेल्फी क्यामेरामा प्राकृतिक स्किन टोन र सूक्ष्म विवरणहरू अझ स्पष्ट देखिने बनाउने बताइएको छ ।
यो सिरिजमा समावेश फोटो एसिस्टजस्ता एआई–सञ्चालित एडिटिङ टुलहरूले फोटोमा आवश्यक परिवर्तन वर्णन गरेरै सम्पादन गर्न सकिने सुविधा प्रदान गर्छन् । क्रियटिभ स्टुडियो प्लेटफर्ममार्फत दृश्य सामग्री सजिलै सिर्जना र अनुकूलन गर्न सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार नेपालमा ग्यालेक्सी एस२६ अल्ट्रा (१२/२५६)को मूल्य २ लाख १२ हजार ९ सय ९९ रुपैयाँ, (१२/५१२ जीबी)को २ लाख ४२ हजार ९ सय ९९ रुपैयाँ र (१६/१टीबी) को २ लाख ९३ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । ग्यालेक्सी एस२६ प्लस (१२/२५६ जीबी)को १ लाख ८२ हजार ९ सय ९९ रुपैयाँ र ग्यालेक्सी एस२६ (१२/२५६जीबी)को मूल्य १ लाख ३३ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार प्रि–अर्डर गर्ने ग्राहकहरूले मोडेलअनुसार ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मको स्टोरेज अपग्रेड अफर पाउनेछन् ।
सामसङ नेपालले पहिलोपटक स्मार्टफोन खरिदका लागि २४ महिनासम्मको ईएमआई सुविधा पनि सुरु गरेको जनाएको छ । कम्पनीका अनुसार ग्राहकहरूले पुराना उपकरण साटेर नयाँ फोन लिन ट्रेड–इन विकल्प पनि प्रयोग गर्न सक्नेछन् । यसका लागि सबको फोन र अर्को स्टोर जस्ता पार्टनरहरूमार्फत सेवा उपलब्ध हुने बताइएको छ । ग्राहकहरूले आधिकारिक रिटेल स्टोर वा कम्पनीको वेबसाइटमार्फत प्रि–अर्डर गर्न सक्नेछन् ।