काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सरकारसँग मिलेर काम गर्न भारत तयार रहेको बताएका छन् ।
फागुन २१ को चुनावमा बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग फोन संवादको क्रममा मोदीले भारतको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति श्री रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भयो’, उनले ट्विटरमा भनेका छन्, ‘वहाँहरुको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ। वहाँहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि वहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गरेँ।’
उनले संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने कुरामा विश्वस्त रहेको उल्लेख गरेका छन् । जेनजी प्रदर्शनपछिको निर्वाचनमा रास्वपाले अभूतपूर्व नतिजा ल्याएसँगै भारतको यो प्रतिक्रिया आएको हो । नतिजासँगै नेपाली शासनमा व्यापक परिवर्तन आउन सक्ने अपेक्षा छ । सोही कारण अन्तिम परिणाम आएसँगै भारतीय प्रधानमन्त्रीले गम्भीर चासो देखाएका हुन् ।
नेपाल र भारतबीच सदीयौँदेखि रोटी र बेटीको सम्बन्धका साथै राजनीतिक सम्बन्धबारे जनस्तरमै चासो रहने गर्छ । यस्तोमा भारतीय प्रधानमन्त्रीबाट आगामी सरकार चलाउनेसँग भएको फोन वार्तालाई महत्वका साथ हेरिएको छ ।