काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पूर्वअर्थमन्त्री, उद्योगी तथा व्यवसायीलाई पराजय भोग्नु परेको छ । यसरी हार व्यहोर्नेमा पूर्वअर्थमन्त्रीहरू क्रमशः प्रकाशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, विष्णु पौडेल, जनार्दन शर्मा र वर्षमान पुन हुन् ।
महत नुवाकोट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम तिमिल्सिनासँग पराजित भएका हुन् । तिमिल्सिनाले २२ हजार छ सय नौ मत प्राप्त गरी निर्वाचित हुँदा पूर्वअर्थमन्त्रीसमेत रहेका महतले १८ हजार पाँच सय ९७ मत ल्याएका हुन् । महत नेपाली कांग्रेसका नेता हुन् ।
सुनसरी–४ को चुनावी प्रतिस्पर्धामा उत्रिएका पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्र्की राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का दीपककुमार साहसँग पराजित हुन पुगेका हुन् । रास्वपा उम्मेदवार साहले ४२ हजार सात सय ४१ मत प्राप्त गर्दा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका कार्कीले १६ हजार पाँच सय ८७ मत प्राप्त गरेका हुन् । कांग्रेसका नेता रहेका महत र कार्कीसँग सत्तामा बसेको र राजनीतिको लामो ज्ञान रहेको छ । विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेका महत र कार्कीले अर्थमन्त्रीको रूपमा समेत जिम्मेवारी सम्हालेको अनुभव रहेको छ ।
अघिल्लो सरकारमा एमालेको तर्फबाट अर्थमन्त्री बनेका विष्णु पौडेले पनि रास्वपाका सुलभ खरेलसँग पराजित हुन पुगे । रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा गरेका खरेलले ५६ हजार पाँच सय ५० मत प्राप्त गर्दा पौडेलले ४३ हजार छ सय ८९ मत प्राप्त गरेका हुन् । लामो समय एमालेमा रहेर राजनीति गरेका पौडेल पराजित हुन पुगेसँगै पार्टीलाई समेत असर पुगेको एमालेका नेताहरू बताउँछन् ।
अर्का पूर्वअर्थमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मा पनि पराजित भएका छन् । रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी हुँदा प्राप्त मतको हिसाबमा दोस्रो नेपाली कांग्रेसका उम्मेदवार राजु केसी र तेस्रो शर्मा बन्न पुगे । शर्माले २१ हजार छ सय नौ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार केसीले १६ हजार छ सय ६१ र शर्माले १४ हजार तीन सय ४६ मत प्राप्त गरेका हुन् ।
शर्मा २०६४ सालपछिका सबै निर्वाचनमा साबिक माओवादीबाट निरन्तर जित्दै आएका नेता हुन् । उनको विजय यात्रामा यसपल्ट भने रोक लागेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वअथमन्त्रीहरू क्रमशः प्रकाशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, विष्णु पौडेल, जनार्दन शर्मा पराजित हुँदा पूर्वअर्थमन्त्री वर्षमान पुनले भने जित हात पार्न सफल भएका ।
रोल्पामा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदावर बनेका पुनले नेपाली कांग्रेसका डा. सुदनकुमार वलीलाई पराजित गरेका हुन् । पुनले २७ हजार चार सय ६० मत प्राप्त गर्दा प्रतिद्वन्द्वी वलीले १२ हजार आठ मत पाएका हुन् । तेस्रोमा रास्वपा बालराम थापाले १० हजार आठ सय ९४ मत प्राप्त गरेका हुन् । २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग र २०७९ मा कांग्रेससँग गठबन्धन गरेर प्रतिस्पर्धा गरेको थियो, दुवै गठबन्धबाट वर्षमान पुन विजयी भएका थिए ।
त्यस्तै नेपालका एकमात्र डलरअर्बपति विनोद चौधरी पनि पराजित हुन पुगेका छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा गरेका चौधरी रास्वपाका विक्रम खनालसँग पराजित भएका हुन् । चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गर्दै खनाल निर्वाचित भएका हुन् । खनालले ४५ हजार दुई सय ४१ र चौधरी नौ हजार पाँच सय दुई मत प्राप्त गरे ।
मेडिकल व्यवसायी एवं नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा पनि रास्वपाका गणेश कार्कीसँग पराजित हुन पुगे । मोरङ क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धामा कार्कीले ३६ हजार नौ सय २४ मत प्राप्त गर्दा शर्माले २४ हजार तीन सय ५४ प्राप्त गरे । स्वास्थ्य सेवालाई राजनीतिको हतियार बनाएका शर्माको हारले पुराना दलहरूलाई चुनौती थपेको छ । शर्मा यसअघिको निर्वाचनमा मोरङ–३ बाटै निर्वाचित भएका थिए, तर यस पटक उनलाई रास्वपा उम्मेदवार गणेश कार्कीले हराएका हुन् । अर्का व्यवसायी वीरेन्द्रकुमार महतोले पनि चुनावमा हार व्यहोरे । सिराहा ४ बाट प्रतिस्पर्धा गरेका महतो मत प्राप्तिअनुसार तेस्रो नम्बरमा रहे भने रास्वपाका तपेश्वर यादवले जित हात पारे । तपेश्वरले ३६ हजार दुई सय १०, नेपाली कम्युनिस्ट पार्टीका अजयशंकर नायकले सात हजार नौ सय ७२ र महतोले पाँच हजार ४१ मत प्राप्त गरे । महतोको बैंकिङ, जलविद्युत्, शिक्षालगायत क्षेत्रमा लगानी छ । उनी माछापुच्छ«े बैंकका पूर्वअध्यक्ष हुन् ।
पर्यटन व्यवसायी रमेश धमाल पनि पराजित भएका छन् । धादिङ २ मा प्रतिस्पर्धा गरेका धमाल रास्वपा उम्मेदवार बोधनारायण श्रेष्ठसँग भारी मतले पराजित भएका हुन् । श्रेष्ठले २६ हजार एक सय ४५ मत प्राप्त गर्दा धमालले २० हजार दुई सय ७९ मत प्राप्त गरेका हुन् । धमाल पर्यटन व्यवसायी हुन् । होटल तथा पर्यटन व्यवसायमा लगानी रहेका धमला ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष हुन् ।
धादिङ १ अर्का पर्यटन व्यवसायी कृष्ण रिजालले पनि हार व्यहोरेका छन् । धादिङ १ बाट प्रतिस्पर्धामा उत्रिएका रिजाल रास्वपाकी नेतृ आशिका तामाङसँग पराजित हुन पुगेको हुन् । तामाङले ३९ हजार ए कसय २८ र रिजलाले १० हजार ८० मत प्राप्त गर्दै चौथो हुन पुगेका हुन् । दोस्रोमा एमालेका भूमि त्रिपाठीले १५ हजार ३१ र तेस्रोमा नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डले १४ हजार सात सय नौ मत प्राप्त गरे । रिजाल पर्यटन बोर्डका सदस्य समेत हुन् । यता, एमालेले कपिलवस्तु–३ मा वीरेन्द्रकुमार कनौडियालाई उम्मेदवार बनाएको थियो । उनी कांग्रेस परित्याग गरेर एमालेबाट उम्मेदवार बनेका थिए । लुम्बिनी सुगर मिल्सका अध्यक्षसमेत रहेका कनौडिया यसपटकको चुनावमा पराजित भए । उनलाई कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले हराए । शाहले २३ हजार पाँच सय ३५ र कनौडियाले १४ हजार सात सय ६३ मत प्राप्त गर्दै तेस्रो भए । रास्वपाका उम्मेदवार प्रकाश रजौरिया १८ हजार आठ सय ९० मत प्राप्त गर्दै दोस्रो भए ।
यस्तै यो चुनावमा जित प्राप्त गर्ने व्यवसायीहरू पनि रहेका छन् । रास्वपाका डीपी आर्याल र नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत धनञ्जय रेग्मी र कांग्रेसका मोहन आचार्यले भने जित हात पारे । अर्यालले ३५ हजार ९३, रेग्मीले २९ हजार ७१ र आचार्याले १० हजार छ सय ५६ मत प्राप्त गर्दै जित हात पारेका हुन् । अर्यालको पर्यटन, वैदेशिक रोजगार र रेमिटेन्स व्यवसायमा लगानी छ । उनी अघिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट सांसद थिए । रेग्मीको होटल तथा पर्यटन व्यवसायमा लगानी छ । कांग्रेसले आचार्य निर्माण व्यवसायी हुन् ।