पुँजीबजार कुनै पनि देशको अर्थतन्त्रलाई हेर्ने ऐना हो । यो ऐना सफा छ भने राम्रो हुन्छ । ऐना फोहोर छ भने अर्थतन्त्रमा पनि धेरै समस्या रहेको बुझ्न सकिन्छ । नेपाली पुँजीबजारको कुरा गर्दा पछिल्लो समय यसमा देखिएको सबैभन्दा ठूलो समस्या हो, ‘इन्साइडर ट्रेडिङ’ अर्थात् भित्री कारोबार । पुँजीबजार कुनै पनि देशको आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र हो । पुँजीबजारमार्फत उद्योग–व्यवसायलाई आवश्यक लगानी प्राप्त हुन्छ र आम लगानीकर्ताले पनि आफ्नो बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्ने अवसर पाउँछन् । तर, बजारलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन नसकिएमा यसको दीर्घकालीन विकास सम्भव हुँदैन । नेपालको सन्दर्भमा पुँजीबजारको विकासमा अवरोध पुर्याउने प्रमुख समस्यामध्ये एक भित्री कारोबार हो ।
कुनै कम्पनीसँग सम्बन्धित गोप्य वा सार्वजनिक नभएको सूचनाको आधारमा सेयर किनबेच गर्नुलाई पुँजीबजारको भाषामा भित्री कारोबार अर्थात् इन्साइडर ट्रेडिङ भनिन्छ । कम्पनीका सञ्चालक, उच्च व्यवस्थापक, कर्मचारी वा नजिकका व्यक्तिहरूले यस्तो गोप्य जानकारी सार्वजनिक हुनुअघि नै त्यसको फाइदा उठाउँदै सेयर खरिद वा बिक्री गर्ने गर्छन, यो नै भित्री कारोबार हो । कुनै कम्पनीले ठूलो नाफा कमाएको वा कुनै ठूलो परियोजना प्राप्त गरेको सूचना सार्वजनिक हुनुअघि नै कम्पनीका भित्री व्यक्तिहरूले सेयर किन्ने र सूचना सार्वजनिक भएपछि मूल्य बढ्दा बेच्नेजस्ता गतिविधि भित्री कारोबारका उदाहरण हुन् ।
नेपालको पुँजीबजार अझै विकासको चरणमा रहेको बजार हो । सूचना प्रवाह, नियमन प्रणाली र निगरानी संयन्त्र पूर्णरूपमा सुदृढ भइसकेको छैन । यही कमजोरीको फाइदा उठाउँदै कतिपय व्यक्तिहरूले गोप्य सूचनाको दुरुपयोग गर्ने गरेका छन् । यसले बजारमा समान अवसरको सिद्धान्तलाई कमजोर बनाउँछ । सामान्य लगानीकर्ताले सार्वजनिक सूचनाको आधारमा मात्र निर्णय लिनुपर्ने हुन्छ भने भित्री व्यक्तिहरूले गोप्य सूचनाको फाइदा उठाउने अवस्था सिर्जना हुन्छ । भित्री कारोबारले लगानीकर्ताको विश्वास घटाउँछ । भित्री कारोबार बढ्दै जाँदा साधारण लगानीकर्ताले बजारलाई निष्पक्ष मान्न छाड्छन् । बजारमा केही सीमित व्यक्तिले मात्र लाभ लिइरहेका छन् भन्ने धारणा बनेपछि नयाँ लगानीकर्ता आकर्षित हुन गाह्रो हुन्छ । अर्कोेतर्फ भित्री कारोबारले बजारको पारदर्शिता कमजोर बनाउँछ । पुँजीबजारको मुख्य आधार नै पारदर्शिता हो । गोप्य सूचना प्रयोग गरेर कारोबार हुने अवस्था रहेमा बजारको पारदर्शिता कमजोर हुन्छ । सेयरको मूल्य माग र आपूर्तिको आधारमा स्वाभाविक रूपमा निर्धारण हुनुपर्छ । तर भित्री कारोबारले कृत्रिम रूपमा मूल्य बढाउने वा घटाउने अवस्था सिर्जना गर्छ । यो पुँजीबजारको विकासको लागि निकै घातक हुन्छ । अर्कोेतर्फ भित्री कारोबारले दीर्घकालीन लगानी वातावरण बिगार्छ । यदि बजारमा बारम्बार भित्री कारोबारका घटना देखा पर्छन् भने दीर्घकालीन तथा संस्थागत लगानीकर्ताहरू बजारमा आउन हिच्किचाउँछन् । यसले पुँजीबजारको विस्तारलाई समेत रोक्छ ।
पुँजीबजारको समग्र विकास र विस्तार एवं आम लगानीकर्ताहरूको हितको लागि भित्री कारोबार नियन्त्रण गर्न कडा नियमन र प्रभावकारी निगरानी आवश्यक हुन्छ । नियामक निकायले बजारमा हुने असामान्य कारोबारको निरन्तर अनुगमन गर्नुपर्छ । कम्पनीहरूले पनि सूचना पारदर्शी रूपमा समयमै सार्वजनिक गर्ने संस्कार विकास गर्नुपर्छ । साथै, भित्री कारोबारमा संलग्न व्यक्तिलाई कडा कारबाही गरिने स्पष्ट सन्देश दिनु आवश्यक छ । कुनै पनि देशको पुँजीबजारको विकासको लागि भित्री कारोबार गम्भीर चुनौती हो । त्यसमाथि पनि हाम्रो जस्तो विकासोन्मुख पुँजीबजारमा यसले लगानीकर्ताको विश्वास कमजोर पार्ने, बजारको पारदर्शिता घटाउने र दीर्घकालीन विकासलाई अवरुद्ध गर्ने काम गर्छ । त्यसैले निष्पक्ष, पारदर्शी र विश्वसनीय बजार निर्माण गर्न भित्री कारोबारलाई नियन्त्रण गर्नु अत्यन्तै आवश्यक रहेको छ । यसो हुन सकेको खण्डमा मात्र पुँजीबजारप्रति आम लगानीकर्ताहरूको विश्वास बढ्न सक्छ । पुँजीबजारप्रति लगानीकर्ताहरूको विश्वास बढ्नु भनेको दीर्घकालीनरूपमा मुलुकको समग्र अर्थतन्त्रमा सकारात्मक परिवर्तन देखिनु हो ।