नयाँ दिल्ली, भदौ २९
भारतीय सेयरबजार सेन्सेक्सका शीर्ष १० कम्पनीमध्ये चारवटाको बजार पुँजीकरण अर्थात् मार्केट क्यापमा गत हप्ता ३० खर्ब भारुले वृद्धि भएको छ । यो दौडान रिलायन्स इन्डस्ट्रिको बजार मूल्यांकन नै १ सय ५० खर्ब भारु नाघेको भारतीय मिडियाहरुले जनाएका छन् । समीक्षा अवधिमा भारतकै सबैभन्दा बढी मूल्यवान् कम्पनी रिलायन्सको बजार पुँजीकरण २५ खर्बले बढेर १ सय ५६ खर्ब भारुसम्म पुगेको थियो । पछिल्ला हप्ता कम्पनीको सेयर पनि बढेको थियो ।
उक्त अवधिमा टाटा कन्सल्टेन्सी सर्भिसेज, हिन्दुस्तान युनिलिभर एन्ड इन्फोसिसको बजार पुँजीकरणमा बढोत्तरी भएको थियो भने एचडीएफसी बैंक, एचडीएफसी, भारती एयरटेल, कोटक महिन्द्रा बैंक, आईसीआईसीआई बैंक र आईटीसीको बजार मूल्यांकन सामूहक रुपबाट ५ खर्ब ४८ अर्ब भारुले घटेको छ । त्यस्तै टीसीएसको बजार पुँजीकरण ३ खर्ब १५ अर्बले बढेर ८९ खर्ब पुगेको थियो । इन्फोसिसको बजार मूल्यांकन पनि १ खर्ब ११ अर्बले बढेर ४० खर्ब भारु पुगेको थियो ।
त्यस्तै हिन्दूस्तान युनिलिभरको बजार पुँजीकरण ८१ अर्बले बढेर ५० खर्ब पुगेको छ । तर एचडीएफसी बैंकको बजार पुँजीकरण भने २ खर्ब २७ अर्बले घटेर ५९ खर्ब भारुमा झरेको छ । भारतीय एयरटेलको बजार मूल्यांकन पनि १ खर्ब ७१ अर्बले घटेर २६ खर्बमा झरेको छ । त्यस्तै कोटक महिन्द्रा बैंकको ९६ अर्बले घटेर २६ खर्बमा झरेको छ । आईटीसी, आईसीआईसीआई बैंकलगायतको भने बजार मूल्यांकन घटेको छ ।