काठमाडौं । वात्सल्य आईभीएफमा मेटलाइफ इन्स्योरन्स कम्पनीका बीमा ग्राहकहरूलाई छुट हुने भएको छ । प्रजनन तथा आईभीएफ सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले भएको उक्त सम्झौताअन्तर्गत, मेटलाइफका बीमा ग्राहक र उनीहरूका एकाघरका परिवार सदस्यहरूले ‘वन बाइ’ मेटलाइफ एपमा रहेको ‘डिजिटल लाइफ कार्डमार्फत वात्सल्यका सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यो साझेदारीपश्चात् ग्राहकले प्रमुख डायग्नोस्टिक परीक्षणहरूमा १५ प्रतिशत छुट, सम्पूर्ण आईभीएफ प्याकेजहरूमा एकमुष्ट २० हजार रुपैयाँको विशेष छुट र अन्य प्रजनन स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुटको लाभ उठाउन सक्ने कम्पनीले जानकारी दिएको छ । ‘यस पहलको मुख्य उद्देश्य प्रजनन उपचारलाई अझ पहुँचयोग्य’, किफायती र पूर्ण रूपमा गोप्य बनाउनु हो’ वात्सल्यले विज्ञप्ती जारी गर्दै भनेको छ । उपचारको बढ्दो लागत, समाजमा रहेको संकोच र जनचेतनाको कमी जस्ता बाधाहरूलाई सम्बोधन गर्न यसले मद्दत पुग्ने कम्पनीको भनाइ छ । वात्सल्य आईभीएफका मार्केटिङ हेड नविन विष्टले भने ‘यस सहकार्यले सन्तान प्राप्तिको पर्खाइमा रहेका दम्पतीहरूलाई उत्कृष्ट उपचारसँग जोड्दै आर्थिक रूपमा समेत ठूलो राहत प्रदान गर्नेछ ।’ विश्वस्तरीय प्रजनन् सेवालाई आम मानिसको पहुँचमा पुर्याउने प्रयासमा यो सम्झौता एउटा महत्वपूर्ण कदम रहेको बिष्टले भने । साथै, भ्रूण प्रत्यारोपणलाई थप प्रभावकारी बनाइ आईभीएफको सफलता दर बढाउन क्लिनिकले भर्खरै मात्र अत्याधुनिक ‘लेजर ह्याचिङु’ प्रविधि समेत सञ्चालनमा ल्याएको छ । वात्सल्यले नेपालका प्रमुख आठ सहरहरूबाट आफ्नो गुणस्तरीय प्रजनन् स्वास्थ्य सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।