काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई आग्रह गरेको छ ।
कामपाले केही सहकारीहरूले विदेशी नागरिकलाई सहकारी संस्थाको सदस्य बनाई आर्थिक कारोबार गर्ने गरेको गुनासो आएको भन्दै उक्त कार्य तत्काल बन्द गर्न सबै सहकारी संस्थालाई आग्रह गरेको हो । कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार गैरनेपाली नागरिकलाई कुनै पनि सहकारी सदस्य बनाउने कार्य कानुनविपरीत हो । कामपाको आग्रहलाई व्यवास्था गरे प्रचलित कानुनबमोजिम कारबाही गर्ने उनले बताए । सहकारी ऐन, २०७४ दफा ३० र काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २० मा सहकारी संस्थामा नेपाली नागरिक मात्र सदस्य हुन सक्ने स्पष्ट व्यवस्था रहेको छ । त्यसैगरी, सहकारी ऐन २०७४ को दफा ५० तथा काठमाडौं महानगरपालिकाको सहकारी ऐन, २०७४ को दफा ३९ मा सहकारी संस्थाहरूले सदस्य केन्द्रित भई बचत तथा ऋण कारोबार सञ्चालन गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ ।
काफ्लेले लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खारेजीको प्रक्रियामा लाने पनि बताए । यसरी प्रक्रियामा नै नआएका सहकारीलाई खारेजीमा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि मात्रै खारेजी प्रक्रिया अघि बढाउने भन्दै सोही अनुरूप प्रक्रया अघि बढाएको विभागको भनाइ छ । खारेजीको प्रक्रियामा आउने कुनै पनि सहकारीले सबैभन्दा पहिले उक्त सहकारीमा रकम बचत गर्ने बचतकर्ताको यकिन हुनुपर्ने, आर्थिक कारोबार पनि यकिन हुनुपर्ने जनाइएको छ । कामपाले दुई महिनाअघि नै सूचनामार्फत तोकिएको समयमा प्रतिवेदन पेस नगर्ने र साधारणसभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनी पनि दिइसकेको छ । हाल कामपामा एक हजार नौ सय सहकारी छन् । जसमा सबैभन्दा बढी बचत तथा ऋया सहकारी रहेको कामपाले जानकारी दिएको छ ।