काठमाडौं । अघिल्लो दिन एक सय ६२ अंकले बढेर तीन पटक सकरात्मक सर्किट लागेर निर्धारित समय भन्दा झण्डै तीन घण्टा अघि बन्द भएको शेयर बजार परिसुचक नेप्से मंगलबार भने खुम्चिएको छ ।
नेप्से परिसुचक आज ३२ दशमलव शुन्य आठ अंकले ओरालो लागेर २८ सय ४३ दशमलव ३५ बिन्दुमा खुम्चिंदा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४० अंकले ओरालो लागेर चार सय ८९ दशमलव ६९ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २३ वटा कम्पनीहरुको दुई लाख पाँच हजार छ सय ११ पटकको कारोबारमा पाँच करोड २७ लाख ११ हजार तीन सय ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम २१ अर्ब ५० करोड २० लाख ३१ हजार तीन सय २० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जीवन बीमा, निर्जीवन बीमा र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैक, फाईनान्स, जलबिद्युत, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।