काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन सफल भएको बताएका छन् ।
निर्वाचन सम्पन्न गराउन विभिन्न निकायबाट आयोगमा काजमा खटी आएका कर्मचारीको मंगलबार बिदाइ गर्दै उनले निर्वाचनमा खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार व्यक्त गरे । भदौ २७ गते राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गर्दा निर्वाचन हुन्छ र ? भन्ने प्रश्न आम रूपमा भए पनि छ महिनाबीचमा निर्वाचन सम्पन्न गराउन सफल भएको उनको भनाइ छ । उनले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । भदौ २३ र २४ गतेको घटनापछि सुरक्षा पेचिलो विषय थियो, निर्वाचन घोषणा भएको एक महिनासम्म पनि दलहरू एक ठाउँमा बस्न सक्ने अवस्था थिएन, आयोगले नै दलहरूलाई एकै ठाउँमा राखेर संवाद आरम्भ गराएको थियो । उनले भने, ‘आजको परिणाम ल्याउन हामी सफल भएका छौँ ।’ निर्वाचन सम्पन्न गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारीमा आयोग रहेको उनले जानकारी दिए । प्रत्यक्ष तर्फको १ सय ६५ क्षेत्रको नै मतपरिणाम सार्वजानिक भए पनि समानुपातिक तर्फको मतगणना भने जारी छ । आयोगले समानुपातिक तर्फको मतगणना सम्पन्न गरी राजनितिक दलहरूले पाउने सिट बाँडफाँट गर्नेछ । निर्वाचनको सबै काम सकेर आयोगले प्रतिवेदन तयार गरी राष्ट्रपति समक्ष बुझाउने छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुईतिहाइ सिट हासिल गरेको छ ।
आयोगका सचिव कृष्णबहादुर राउतले विभिन्न निकायबाट काजमा खटिई आएका कर्मचारीको ‘टिमवर्क’ ले तोकिएको समयमा निर्वाचन सम्भव भएको बताए । निर्वाचनमा खटिएका सबै राष्ट्रसेवक कर्मचारीकै कारण २३ हजार ११२ मतदान केन्द्र र १४३ वटा अस्थायी केन्द्रमा कुनै सामान्य खालका समस्या नभई निर्वाचन सम्पन्न भएको उनको भनाइ थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि विभिन्न निकायबाट गरी १४१ कर्मचारी आयोगमै काजमा आएर काम गरेको प्रशासन शाखा प्रमुख एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । निर्वाचन सम्पन्न भएसँगै काज फिर्ता सुरु भएको उनले जानकारी दिए ।