काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको साधारण सेयर (आईपीओ) को खरिद अवधि समाप्त भएको छ । निर्वाचनका कारण थप गरिएको सयम यही फागुन २६ गते मंगलबार समाप्त भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि फागुन १७ गतेदेखि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको थियो । फागुन २२ गतेसम्म समय दिएर खुला गरिएको साधारण सेयरमा चुनावका कारण समय थप भएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको साधारण सेयर बाँडफाँटपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि साधारण सेयर निष्कासन गरेको हो ।
कम्पनीले एक लाख ११ हजार कित्ता सामूहिक लगानी कोष र ४४ हजार चार सय कित्ता सेयर आफ्ना कर्मचारीलाई छुट्याएर एक सय रुपैयाँ अंकित दरका बाँकी १८ लाख ४२ हजार छ सय कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ । यो साधारण सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । साधारण सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।