काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे १५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाले सोमबार संस्थाको कर्पोरेट कर्यालय, ललितपुरमा विशेष कार्यक्रमका साथ सम्पन्न गरेको जानकारी दिएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न, उक्त कार्यक्रममा संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य, प्रहरी प्रभाग इमाडोल ललितपुरका प्रहरी प्रतिनिधीहरु, संस्थाका उच्च व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, कर्पोरेट कार्यालय, शाखा कार्यालयमा कार्यरत कर्मचारीहरु एवं स्थानियहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुवातमा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले स्वागत मन्तव्यसहित कार्यक्रमबारे जानकारी गराएका थिए । आचार्यले लघुवित्तले मुलुकको वित्तीय क्षेत्रमा योगदान पुर्याएको बताए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीले संस्थामा रहेका सम्पूर्ण कर्मंचारीहरुको साथ र सहयोगले संस्था यहाँसम्म आएको बताए । पंगेनीले उद्घाटन गरेको उक्त कार्यक्रममा दीर्घ सेवा गरेका कर्मचारीहरुलाई विशेष धन्यवाद दिंदै, संस्थाले अति विपन्न वर्गलाई सेवा दिएर उनिहरुलाई आत्मनिर्भर बनाइ देशको अर्थतन्त्रमा ठूलो भूमिका खेलेको बताए ।
कार्यक्रममा संस्थामा निरन्तर १० वर्ष सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा प्रहरी प्रभाग इमाडोल, ललितपुरलाई आवश्यक स्टेसनरी सामग्री हस्तान्तरणसहित मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमलाई व्यवस्थित गर्ने काम संस्थाका कर्मचारी लक्ष्मी अर्यालले गरेकी थिइन । संस्थाले हाल सातवटै प्रदेशका ५५ जिल्लाहरुमा एक सय ६७ वटा शाखा कार्यालयमार्फत करिब एक लाख ९५ हजार जना ग्राहक सदस्यहरुलाई वित्तीय सेवा दिंदै आइरहेको छ ।