काठमाडौँ । काठमाडौँलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषण बढेकाले बुधबार सार्वजनिक सूचना जारी गरेर आफ्नो स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सर्तकता अपनाउन अनुरोध गरिएको जानकारी दिए ।
उनका अनुसार नेपाल प्रहरीले नागकिरमा छ बुँदे अनुरोध जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन आग्रह गरेको छ । त्यस्तै प्रहरीले आफ्नो वरिपरि आगो लगाएर फोहर नजलाउन, वायु प्रदूषणको स्तर उच्च भएको बेला घर बाहिरको गतिविधि नगर्न अनुरोध गरेको छ ।
विशेषतः बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासमा समस्या भएकाहरुले थप सावधानी अपनाउन अनुरोध गर्दै प्रहरीले श्वासप्रश्वाससम्बन्धी कुनै समस्या आएमा तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न अनुरोध गरेको पनि प्रवक्ता काफ्लेले बताए ।
मौसममा आएको बदलीसँगै नेपालमा पनि प्रदूषणको मात्रा बढिरहेको हुँदा प्रहरीले नियमित मास्कको अनिवार्य प्रयोग गर्न सबैलाई अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले यो समयमा स्वास्थ्यको विशेष ख्याल गर्न सबैमा अनुरोध पनि गरिसकेको छ ।