काठमाडौं । विश्व बैंकले नेपालमा बढ्दो वायु प्रदुषण कम गर्न र वायु गुणस्तर व्यवस्थापनलाई सुदृढ गर्नका लागि ऋण दिने निर्णय गरेको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले ‘नेपाल स्वच्छ वायु र समृद्धि’ परियोजनाको लागि ५ करोड २० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको हो ।
विश्व बैंकले जारी गरेको विज्ञप्ति अनुसार उक्त परियोजनाले वायु गुणस्तर व्यवस्थापनको लागि राष्ट्रिय प्रणालीहरूलाई सुदृढ गर्दै विशेष गरी औद्योगिक र व्यावसायिक बोयलर र भट्टीहरूबाट सूक्ष्म कण पदार्थ (एम२.५) उत्सर्जन घटाउन मद्दत गर्नेछ । वायु प्रदूषणले गम्भीर जोखिम निम्त्याएको काठमाडौं उपत्यका, तराई र वरपरका क्षेत्रहरूमा केन्द्रित हुनेछ ।
नेपालका लागि वायु प्रदूषण सार्वजनिक स्वास्थ्य संकट मात्र नभई एक महत्वपूर्ण आर्थिक बोझ पनि हो । जसले स्वास्थ्य लागत र श्रम उत्पादकता गुमाएर प्रत्येक वर्ष देशलाई जीडिपीको छ प्रतिशत भन्दा बढी खर्च गर्छ ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि बैंकको डिभिजन निर्देशक डेभिड सिस्लेनका अनुसार यस परियोजनाले नेपाली उद्यमहरूलाई स्वच्छ र प्रभावकारी प्रविधिहरू अपनाउन मद्दत गरेर लाखौं मानिसहरूलाई हानिकारक प्रदूषणबाट जोगाउने लक्ष्य राखेको छ । जसले गर्दा सञ्चालन लागत घट्छ, प्रतिस्पर्धात्मकतामा सुधार हुन्छ र दिगो औद्योगिक वृद्धिलाई सहयोग गर्नेछ ।
नेपालले औद्योगिकीकरण जारी राख्दै आगामी वर्षहरूमा औद्योगिक उत्सर्जन वायु प्रदूषणको सबैभन्दा ठूलो स्रोत बन्ने अनुमान गरिएको बेला उक्त ऋण सहयोग पाएको हो । स्वच्छ प्रविधि वित्तपोषण, प्रोत्साहन र प्राविधिक सहयोगको संयोजन मार्फत, परियोजनाले लगभग ४०० औद्योगिक र व्यावसायिक उद्यमहरूलाई विद्युतीय बयलर/भट्टी, आधुनिक बायोमास बयलर÷भट्टी, वा उन्नत उत्सर्जन नियन्त्रण प्रविधिहरू अपनाउन सहयोग गर्नेछ, जसले गर्दा वायु गुणस्तरमा उल्लेखनीय सुधार हुनेछ ।
“नेपालमा उच्च अग्रिम लगानी लागत, दीर्घकालीन वित्तपोषणमा सीमित पहुँच र उद्यमहरू बीच कम प्राविधिक क्षमताको संयोजनका कारण स्वच्छ प्रविधि अपनाउने सीमित छन् । यस परियोजनाले लामो अवधिको वित्तपोषण र लक्षित पूँजी प्रोत्साहनहरूलाई व्यावहारिक प्राविधिक सहयोगसँग जोडेर यी अवरोधहरूलाई सम्बोधन गर्दछ, जसले उद्योगहरूलाई सफा उत्पादनमा संक्रमण गर्न मद्दत गर्नेछ ।
यो परियोजना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभाग र वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले कार्यान्वयन गर्ने जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंकले स्वच्छ प्रविधि वित्तपोषण सुविधाको लागि ह्यान्डलिंग बैंकको रूपमा काम गर्नेसमेत विश्व बैंकले जनाएको छ ।