लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा ‘सबैका लागि मिर्गौला स्वास्थ्य’ नारासहित वर्षमा एक पटक मिर्गौला जाँचौँ, आफनो मिर्गौला बचाऔँ भन्ने अभियानका साथ बुटवलमा बिहीवार सचेतनामुलक साइकल र्याली तथा अभिमुखिकरण कार्यक्रम गरिएको गरिएको छ ।
केन डाईबेटिज एण्ड थाइरोइड सेन्टर, नेपाल सोसाईटी अफ नेफ्रोलोजी, बुटवल युनाइटेड साइक्लिङ क्लब, लायन्स क्लब अफ बटौलीको संयुक्त आयोजनामा सम्पन्न साइकल र्याली कालिका मानविज्ञान विद्यालयबाट सुरु भएको थियो । बुटवल नगर परिक्रमा गरी र्याली रामनगर हुँदै तिलोत्तमा नगरपालिकाको बनबाटिका जानकीनगरस्थित केन सेन्टरमा पुगेर समापन भएको थियो ।
कार्यक्रममा नेपाल सोसाईटी अफ नेफ्रोलोजीका अध्यक्ष डा. शक्ति बस्नेतले विश्व परिवेशमानै मिर्गौला समस्या हुने सङ्ख्या बढ्दो रहेको बताए । “विश्वमा ७८ करोड जनसङ्ख्या मिर्गौलाको समस्या भएका व्यक्ति छन्”, उनले भने, “नेपालका कुल जनसंख्यामध्ये १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या छ ।”
आफनै परिवारमा मिर्गौला रोगबाट परेको समस्या बताउँदै केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतीले आफनो क्षेत्रबाट थोरै भएपनि सचेतना जगाउने अभियानमा सबैको हातेमालो जरुरी रहेको बताए । पछिल्लो समयमा केनमा उपचार गर्न आउने मधुमेहका बिरामीहरुमध्ये करीब चार सय बढीको मिर्गौला बचाउन सफल भएको उनले बताए ।