ललितपुर, ललितपुरका विभिन्न स्थानीय तहमा नेपाली कांग्रेस बाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापा को पक्षमा ऐक्यबद्धता जनाएका छन्।बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुरका नगर प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले वर्तमान जटिल राजनीतिक परिस्थितिमा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका हुन्।
विज्ञप्तिमा नेपाली कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती, राष्ट्रियता र लोकतन्त्रको संरक्षणका साथै समसामयिक राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गरिएको छ। जनप्रतिनिधिहरूले सो भूमिकाका लागि गगनकुमार थापा नै योग्य व्यक्तित्व भएको दाबी गरेका छन्।
पछिल्लो समय सभापति थापाले राजीनामा दिने चर्चा चलिरहेकाबारे जनप्रतिनिधिहरूले त्यसलाई पूर्ण रूपमा नकार्दै पार्टी सुदृढीकरणका लागि नेतृत्वको निरन्तरता आवश्यक रहेको बताएका छन्।यसरी ऐक्यबद्धता जनाउनेहरूमा ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महाङ्काल गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन रहेका छन्।
त्यस्तै महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर के.सी., गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन र कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरे ले पनि सामूहिक रूपमा सभापति थापालाई नेतृत्वमा रहिरहन आग्रह गरेका छन्।