काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ)को बिक्री खुला भएको छ । कम्पनीले फागुन २७ गते बुधबारबाट पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब २० करोड रुपैयाँको ३५ दशमलव २६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार आठ सय रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १२ करोड रुपैयाँबराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो । उक्त सेयर खरिदका लागि भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयर १० प्रतिशतले हुन आउने तीन करोड तीन लाख छ हजार सात रुपैयाँबराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका तीन लाख तीन हजार ६७ कित्ता साधारण सेयर श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि, सामूहिक लगानी कोषहरूका लागि एक लाख ५१ हजार पाँच सय ३३ कित्ता र कम्पनीका कर्मचारीहरूका लागि ६० हजार छ सय १३ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीका अनुसार साधारण सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन बन्द छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २६ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन बन्द छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गते हुनेछ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय, भोजपुर, प्रभु बैंकको भोजपुर, प्याउली, हटुवागढी र सिटिजन्स बैंक इन्टरनेसनलको भोजपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।