काठमाडौं ।सर्वोच्च अदालत ले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साह कमल को नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्र का नाममा अन्तरिम आदेश जारी गरेको छ।सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी को एकल इजलासले साहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश दिएको हो। धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोग ले उम्मेदवारी खारेज गरेको थियो। त्यसपछि साहले कर्जा सूचना केन्द्रलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश दिएसँगै साहको उम्मेदवारी कायम रहने बाटो खुलेको अधिवक्ता दिपेन्द्र झा ले जानकारी दिएका छन्।निर्वाचनको दुई दिनअघि मात्रै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध दायर गरिएको रिटको पेसी भने शुक्रबारका लागि तोकिएको छ। उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’ मा उल्लेख्य मत परेको थियो। यद्यपि सो क्षेत्रमा निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार मात्रिका यादव निर्वाचित भएको घोषणा गरिसकेको छ।