सुदूरपश्चिम । निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेलीहरू मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् । केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरू भारततिर फर्किन थालेका हुन् ।
रोजगारीका साथै उपचार, व्यापार तथा अन्य व्यक्तिगत कामका लागि दैनिक सयौँ नेपाली उक्त नाका हुँदै भारत जाने–आउने गर्छन् । त्रिनगर सीमा नाकामा भेटिएका कञ्चनपुरका पदम पन्तले मतदान गरेर आफू फेरि भारततिर जान लागेको बताए । उनले भने, ‘दुई महिनाअघि मतदान गर्न नेपाल आएको हुँ । अहिले फेरि काममा फर्किन थालेको छुँ ।’ खुला सीमा नाका कारण आवतजावत सहज भए पनि कतिपयका लागि भने आवश्यक कागजातको अभावले समस्या सिर्जना भएको छ । त्रिनगर नाकामै भेटिएकी अछामकी कल्सु साउदले उपचारका लागि भारत जान लागेको बताईन् । उनले भनिन्, ‘मतदान गरेपछि नेपालमै स्वास्थ्य जाँच गरौँ भन्ने सोचेकी थिएँ । तर अहिले नियमित चेकअपका लागि फेरि भारत जान लागेकी हुँ ।’
सुदूरपश्चिमका धेरै बिरामी उपचारका लागि भारतीय अस्पताल धाउँछन् । नेपाल–भारतबीचको खुला सिमाना रहेकोले दुई देशका नागरिकले धेरै ठाउँमा सहज रूपमा आवतजावत गर्न पाउने व्यवस्था छ । सुदूरपश्चिमका नागरिक दैनिक रोजगारी, व्यापार, शिक्षा र उपचारका लागि भारत जाने गर्छन् । बिहान नेपालबाट भारत काममा जाने र साँझ फर्किने व्यक्ति धेरै भेटिने गरेका छन् ।