हाल काठमाडौं उपत्यकाको वायु गुणस्तर एयर क्वालिटी इन्डेक्स एक्यूआईको मापदण्डअनुसार विश्वकै सबैभन्दा खराबमध्ये परेको देखिन्छ । आज फाल्गुन २८ गते बिहीबार बिहान यो लेख तयार गर्दा भक्तपुरस्थित वीरेन्द्र सैनिक स्कुल वरिपरि एयर क्वालिटी इन्डेक्स १९४ पुगेको देखिएको थियो ।
भौगोलिक दृष्टिकोणले पनि काठमाडौं एउटा उपत्यका भएकाले चारैतिर डाँडाकाँडाले घेरिएको छ । यस कारण यहाँको हावा सजिलै बाहिर निस्कन सक्दैन र प्रदूषित हावा लामो समयसम्म उपत्यकाभित्रै अड्किएर बस्ने अवस्था देखिन्छ । यसले हाम्रो स्वास्थ्यमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै काठमाडौं कति प्रदूषित छ भन्ने सन्देश फैलाइरहेको छ । यसबाट नेपालजस्तो सुन्दर देशको राजधानी वातावरणीय दृष्टिले कति असुरक्षित स्थान बन्दै गएको छ भन्ने नकारात्मक छवि पनि विश्वभर फैलिने जोखिम देखिन्छ । काठमाडौंमात्र होइन देशैभरि धेरै स्थानमा वायु प्रदूषण देखिन्छ ।
यस्तो हेर्दा अहिले काठमाडौंमा धेरै उद्योगधन्दा, कलकारखाना तथा इँटा भट्टा आधुनिक ढंगले निर्माण गरिएका पनि देखिएका छन्, तर पनि कतिपय स्थानमा इँटा भट्टा त आजै चलिरहेका छन् । यस्तो धुवा फाल्ने उद्योगले वातावरण अत्यन्तै खराब ढंगले बिगारीरहेको छ ।
काठमाडौंमा सफाइ कार्यक्रम चलाइएको त छ, बाटोमा ब्रुमर लगाएर सफाइ पनि गरिएको देखिन्छ, तर कतिपय धुलो उड्ने ठाउँमा न त सफा गरिन्छ न त गर्ने प्रयास नै गरिएको देखिन्छ । त्यसैले वायु प्रदूषण कम गरेर काम गरिरहेको ढंगले त कम हुनुपर्ने हो, तर किन कसरी काठमाडौंको हावा यति प्रदूषित भयो भन्ने प्रश्न उठिरहेको छ । साथै, यो प्रदूषित हावालाई कसरी सफा बनाउने भन्ने चुनौती पनि हाम्रो अगाडि गम्भीर रूपमा उपस्थित भएको छ ।
आज विश्वका धेरै सहरहरूमा वायु प्रदूषण बढ्दो समस्या बनेको देखिन्छ । काठमाडौंमा पनि वर्षा नपरेको लामो समय भइसकेको छ, जसका कारण वातावरण अझै धुलोमय र धमिलो देखिन्छ । यस्तो अवस्थामा बाहिर निस्कन मन लाग्दैन । वास्तवमा आकाश खुला हुँदा मानिसको मन पनि प्रसन्न हुन्छ, शरीरमा आलस्य आउँदैन र मानिस फुर्तिलो हुन्छ । तर प्रदूषित वातावरणले टाउको दुख्ने, वाकवाकी लाग्ने, बिहान उठ्दा नाक पोल्ने, चलचलाउने र बिरामी झन् बिरामी हुने जस्ता समस्या पनि देखिन थालेका छन् ।
एयर क्वालिटी इन्डेक्सको अर्थ
- ०–५० : अत्यन्त राम्रो
- ५१–१०० : सामान्य
- १०१–१५० : संवेदनशील समूहका लागि खराब
- १५१–२०० : स्वास्थ्यका लागि हानिकारक
- २०१–३०० : अत्यन्त अस्वस्थकर
- ३०१ भन्दा माथि : अत्यन्त खतरनाक
यसैले अब हामी सबै मिलेर आफूले सकेजति वातावरण जोगाउने समय आएको छ । यसैगरी विश्व बैंकले पनि नेपालमा बढ्दो वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर व्यवस्थापन सुधार गर्न ५ करोड २० लाख डलर सहुलियत ऋण दिने निर्णय गरेको छ । ऋण लिएर सुधारका काम गर्नु राम्रो भए पनि दीर्घकालीन समाधानतर्फ ध्यान दिनु आजको ठूलो चुनौती बनेको छ ।
वायु प्रदूषणका असरहरू
हावा, प्रकृति, वनस्पति, सफा पानी र स्वच्छ वातावरण हाम्रो जीवन हो । मानिस, जनावर र वनस्पतिका लागि स्वच्छ हावा अत्यन्त आवश्यक हुन्छ । सफा वातावरण चाहिन्छ । तर वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरू बढिरहेका छन् । विशेष गरी बालबालिका र वृद्धहरूको स्वास्थ्यमा यसको गम्भीर असर देखिन्छ । झन् दाम र स्वासप्रश्वासका रोगीलाई त झन् यस्तो वातावरणले अत्यन्तै गारो हुन्छ र अन्तर्राष्ट्रिय क्षेत्रमा देशको छवि पनि प्रदूषित सहरको रूपमा हेरिने हुँदा बिग्रन्छ । साथै वर्षा हुँदा पनि आम्लीय वर्षा हुन्छ जसले गर्दा माटो बिग्रिनुको साथै बालीनालीमा समेत असर गरी उत्पादनत्वमा ह्रास आउँछ ।
वायु प्रदूषण नियन्त्रण गर्न गर्नुपर्ने न्यूनतम कार्यहरू
१. पुराना सवारी साधनबाट निस्कने धुवाँ नियन्त्रण गर्ने
खासगरी नेपालका सबै ठाउँहरूदेखि विशेष गरी धेरै गाडी चल्ने काठमाडौं उपत्यकामा पुराना सवारी साधनबाट निस्कने धुवाँ वायु प्रदूषणको प्रमुख कारण बनेको छ । कतिपय ट्रक तथा ठूला गाडी र सार्वजनिक बसहरूबाट पनि धेरै धुवा फैलिरहेको हुन्छ । यस्ता सवारी साधनले अत्यधिक कार्बन मोनोअक्साइड र अन्य हानिकारक ग्यास उत्सर्जन गर्छन्, जुन वातावरण बिगार्न मद्दत गर्दछ । त्यसैले नियमित रूपमा प्रदूषण परीक्षण गर्नुपर्ने नियमलाई कडाइका साथ पालन गर्नु पर्ने देखिन्छ । साथै, अत्यधिक धुवा फाल्ने सवारी साधन हटाउनेसमेत निर्णय गर्नु पर्दछ । त्यसको साथै विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहन गर्ने नीति लागू गर्न आवश्यक छ । ठूला विद्युतीय साधनलाई अहिले प्रभावकारी साथ ल्याउनु पर्दछ ।
२. धुलो निस्कने स्थानको पहिचान गरी बुट्यान वा घाँस रोप्ने
रिङरोडजस्ता ठाउँमा बर्सौँ भइसकेको छ, रुख काटिएको, तर बाटो बन्न सकेको छैन । रिङरोडको सडक किनार र खाली जमिनबाट वरिपरी तारजाल लगाउँदा पनि कतिपय ठाउँमा निकालीसकेको हुँदा प्रशस्त मात्रामा धुलो उडिरहेको छ र निर्माण भइरहेका स्थानबाट पनि धेरै मात्रामा धुलो उड्ने गर्छ । यस्ता हरेक स्थानको पहिचान गरी त्यहाँ घाँस, रोप्ने वा धुलो नउड्ने बनाउनु पर्दछ । फूल–बिरुवा वा साना बुट्यान रोप्दा र नियमित सरसफाइ गर्दा धुलो उड्ने मात्रा घट्छ र यसले वातावरणलाई हरियाली बनाउनुको साथै वायु प्रदूषण नियन्त्रणसमेत मद्दत पुर्याउँछ ।
३. रुखबिरुवा रोपेर हरियाली बढाउने
काठमाडौंलगायत धेरै ठाउँमा वृक्षारोपण त गरिन्छ, तर कुन जातको बिरुवा रोप्ने, कति मात्रामा रोप्ने भन्ने कुरा विज्ञानसँगको छलफलबाट रोपिनु पर्दछ । रुखबिरुवाले वातावरणमा रहेको कार्बनडाइअक्साइड सोस्छ र अक्सिजन उत्पादन गर्छ । त्यसैले वायु प्रदूषण कम गर्न वृक्षारोपण अत्यन्त आवश्यक छ । सही रुख–बिरुवा पहिचान गरी धेरैभन्दा धेरै ठाउँ पहिचान गरी रोप्नु पर्दछ । सरकारी कार्यालयहरू, सडक र खोला किनार, सार्वजनिक खाली स्थान जहाँ रुख रोप्न मिल्छ, त्यस्ता स्थान, विद्यालय परिसर तथा खाली जग्गामा रुखबिरुवा रोपेर हरियाली बढाउँदा वातावरण स्वच्छ र सफा बनाउन ठूलो सहयोग पुग्छ ।
४. खाली जग्गालाई पहिचान गरी खेती गर्न प्रोत्साहन गर्ने
काठमाडौंलगायत धेरै–धेरै खाली जमिनहरू उपयोगविहीन हुँदा त्यहाँबाट धुलो उड्ने सम्भावना बढी हुन्छ । जथाभावी फोहोर र जथाभावी पार्किङले पनि धुलो उडाइरहेका छन् । यस्ता जमिनलाई खेतीयोग्य बनाएर तरकारी, फलफूल वा अन्य बाली उत्पादन गर्न प्रोत्साहन गर्दा धुलो कम हुन्छ । साथै यसले स्थानीय उत्पादन बढाउन र वातावरण संरक्षण गर्न पनि सहयोग पुर्याउँछ । आयात घटाउँछ र राम्रो पानी देखिन्छ ।
५. सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्ने
यत्तिकै खन्ने बानी नेपालमा यहाँ–त्यहाँ देख्न पाइन्छ । सडकमा खाल्डाखुल्डी हुँदा सवारी साधन चल्दा धेरै धुलो उड्छ । साथै यसले दुर्घटनाको जोखिम पनि बढाउँछ । त्यसैले सडकको नियमित मर्मतसम्भार गरेर खाल्डाखुल्डी तुरुन्त पुरिनु आवश्यक छ । एक टाका रोड मर्मतसम्भार एम्बुलेन्स पनि राख्ने भन्ने सुनिएको थियो, तर आजै धेरै ठाउँमा खाल्डा–खुल्डी देखिन्छ । राम्रो सडक व्यवस्थापनले वायु प्रदूषण घटाउन र यातायात व्यवस्थालाई सुरक्षित बनाउन मद्दत गर्दछ ।
६. निर्माण सामग्री बोक्ने गाडीलाई राम्ररी छोपेरमात्र आवतजावत गराउने
निर्माण सामग्री बोक्नेलाई रातिमात्र सहर प्रवेश गराउने र त्यसपछि सडक सफा गर्नुपर्ने । बालुवा, गिट्टी, माटो वा सिमेन्ट बोक्ने गाडीहरू खुला रूपमा चल्दा धेरै धुलो उड्छ । यस्तो अवस्थाले सडक वरिपरिका मानिसहरूलाई असुविधा हुन्छ । त्यसैले निर्माण सामग्री बोकेको गाडीलाई राम्ररी छोपेरमात्र सडकमा चल्न दिनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ । साथै समय पनि कडाइका साथ तोकिनु पर्दछ ।
७. धुलो उड्ने सडकलाई नियमित रूपमा सफा गर्ने
सहर होस् वा गाउँ, धुलो धेरै उड्ने सडकहरूलाई नियमित रूपमा सफा गर्नुपर्छ । पानी छर्केर वा सफाइ गरेर धुलो नियन्त्रण गर्न सकिन्छ । यसको क्षेत्र हो, त्यसलाई पनि जिम्मेवार बनाइदिनु पर्दछ । यसले सडक वरिपरिका बासिन्दाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ र वायु प्रदूषणको मात्रा कम गर्न सहयोग पुर्याउँछ । धुलो धेरै उड्ने सडकहरूमा सडक पिच गर्ने वा अन्य प्रविधि प्रयोग गरेर धुलो कम गर्न सकिन्छ ।
८. निर्माण सामग्री जथाभावी थुपार्न नदिने
सहरी क्षेत्रमा पनि निर्माण कार्य भइरहेका स्थानमा बालुवा, गिट्टी वा सिमेन्ट जथाभावी थुपार्दा धुलो उड्ने समस्या बढ्छ । गाडीको पाङ्ग्राले धुलो सडकमा फैलाउँछ । त्यसैले निर्माण सामग्री व्यवस्थित रूपमा राख्नुपर्ने र सार्वजनिक सडक वा खुला स्थानमा थुपार्न नदिने नियम कडाइका साथ लागू गर्नुपर्छ ।
९. ठूला कलकारखानालाई उपत्यका बाहिर सार्ने नीति बनाउने र काम प्रदूषण गर्ने प्रविधि भित्र्याउने
अलि ठूला उद्योग तथा कलकारखानाबाट निस्कने धुवा र ग्यासले वातावरणलाई निकै प्रदूषित बनाउँछ । विशेष गरी घना बस्ती भएको उपत्यकामा यस्तो उद्योग राख्दा प्रदूषण झन् बढ्छ । त्यसैले दीर्घकालीन रूपमा यस्ता उद्योगहरूलाई उपत्यका बाहिर सार्ने नीति बनाउन आवश्यक छ ।
१०. प्रत्येक नागरिकलाई आफ्नो वरिपरिको स्थान आफैँ सफा राख्न प्रेरित गर्ने
स्वच्छ वातावरण कायम राख्न सरकारमात्र होइन, नागरिक पनि जिम्मेवार हुनुपर्छ । प्रत्येक व्यक्तिले आफ्नो घर, आँगन र वरिपरिको स्थान सफा राख्ने बानी बसाल्दा वातावरणीय सुधारमा ठूलो योगदान पुग्छ । सामूहिक प्रयासले मात्र स्वच्छ सहर निर्माण सम्भव हुन्छ ।
११. नागरिकलाई समाजप्रति उत्तरदायी बनाउने
वातावरण संरक्षणमा नागरिकको सचेतना अत्यन्त महत्वपूर्ण हुन्छ । समाजप्रति उत्तरदायी नागरिकले फोहोर जथाभावी फाल्दैनन्, वातावरण बिगार्ने गतिविधि गर्दैनन् । त्यसैले जनचेतना कार्यक्रम, शिक्षा र सामुदायिक सहभागितामार्फत नागरिकलाई जिम्मेवार बनाउन आवश्यक छ ।
१२. प्लास्टिक, कागज वा अन्य फोहोर जथाभावी नजलाउने
जाडो हुँदा वा राति धेरै मानिसले फोहोर जलाउँदा विषालु धुवा उत्पन्न हुन्छ, जसले वायु प्रदूषण बढाउँछ । विशेष गरी प्लास्टिक जलाउँदा स्वास्थ्यका लागि अत्यन्त हानिकारक ग्यास निस्कन्छ । त्यसैले फोहोरलाई जलाउने होइन, व्यवस्थित रूपमा संकलन, वर्गीकरण र व्यवस्थापन गर्ने प्रणाली विकास गर्न आवश्यक छ । कुहिने फोहोर र नकुहिने को साथै प्लास्टिक जन्य फोहोरलाई वर्गीकरण गरी उठाउनुपर्छ र जलाउन दिइनु हुँदैन ।
१३. वन डढेलो रोक्न प्रभावकारी कदम चाल्ने
अहिलेसम्म त डढेलो लागेको छैन, तर आजै सुख्खा मौसममा जंगलमा डढेलो लाग्दा ठूलो मात्रामा धुवा उत्पन्न हुन्छ । यसले वातावरण र जैविक विविधतालाई गम्भीर क्षति पु¥याउँछ । त्यसैले डढेलो रोक्न निगरानी बढाउने, जनचेतना फैलाउने र स्थानीय समुदायलाई सक्रिय बनाउने कदम चाल्नुपर्छ ।
१४. खोलानाला सफा बनाएर स्वच्छ पानी बग्ने वातावरण बनाउने
नेपालमा सामान्यतया
- सबैभन्दा खराब हावा : मंसिर–फागुन
- मध्यम प्रदूषण : चैत–वैशाख
- सबैभन्दा सफा हावा : वर्षायाम (असार–भदौ)
काठमाडौंलगायत देशका धेरै सहरहरूमा वायु प्रदूषण कम गर्न विभिन्न प्रयासहरू भइरहेका छन् । जस्तै– विद्युतीय सवारी साधन प्रयोगमा ल्याउने, साइकल प्रयोगलाई प्रोत्साहन गर्ने, केही स्थानमा साइकल लेन विस्तार गर्ने, फोहोर जलाउनेलाई कारबाही गर्ने, डढेलो रोक्न सचेतना कार्यक्रम सञ्चालन गर्ने, पुराना धुवा फाल्ने सवारी साधन हटाउने प्रयास गर्ने आदि । तर धेरै ठाउँमा प्रभावकारी कदम चलाएको देखिँदैन । अब वातावरण नै राम्रो नभए भने हाम्रो आवश्यकता रहदैन र आउँने पुस्तालाई पनि हामीले अस्वस्थ वातावरण छोडेर जानुपर्छ ।
अब सबै सचेत नागरिक स्थानीय निकाय, सरकारी निकाय र समुदाय मिलेर स्वच्छ वातावरण निर्माण गर्नु हाम्रो साझा दायित्व र कर्तव्य हो । आशा छ अब काठमाडौंलगायत सबै ठाउँको हावा सफा बनाउन कदम चलिने छ । वातावरण जोगाउनु नै हाम्रो परम धर्म र कर्तव्य हो ।