भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो ।
अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुगी आफ्ना पिता मोहनप्रसाद ओलीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवङ्गत ओलीका जेठा पुत्र केपी ओली र कान्छा पुत्र जयप्रसाद ओलीसहित तीन छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. डि के रौशनका अनुसार मोहनप्रसादलाई शुक्रबार बिहान करिब ४ः०० बजे उपचारका लागि अस्पताल ल्याइएको थियो । विगत छ महिनादेखि उहाँको यही अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको थियो ।
अस्पताल प्राङ्गणमा नेकपा (एमाले) का सचिव महेश बस्नेत, भानुभक्त ढकाललगायत केन्द्रीय नेता तथा स्थानीय नेता कार्यकर्ताले मोहनप्रसादलाई श्रद्धाञ्जली दिएका थिए ।