काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको सर्वसाधारणका लागि जारी साधारण सेयरको बाँडफाँट कार्य आगामी शुक्रबार अर्थात् फागुन २९ गते हुने भएको छ ।
कम्पनीको साधारण सेयर फागुन १२ देखि १५ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको थियो । बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाअनुसार गोलाप्रथाबाट सेयर बाँडफाँड गरिने छ । यस क्रममा चार लाख ५० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउने छन् । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ४५ करोड रुपैयाँ बराबरको ४५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कुल तीन अर्ब ७५ करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीले यसको २० प्रतिशत बराबर ७५ करोड रुपैयाँ मूल्यका ७५ लाख कित्ता साधारण सेयर जारी गर्ने अनुमति पाएको थियो । सोमध्ये १८ लाख ७५ हजार कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई यसअघि नै बाँडफाँट भइसकेको कम्पनीले जानकारी दिएको छ ।
यसैगरी पाँच लाख ६२ हजार पाँच सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, दुई लाख ८१ हजार दुई सय ५० कित्ता सामूहिक लगानी कोष र दुई लाख ८१ हजार दुई सय ५० कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।