काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले प्रवासी नेपालीलाई नेपालमा लगानीको वातावरण बनाउन बोर्डले सहजीकरण गर्ने बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं अधिवेशन तथा ग्लोबल कन्फ्रेन्सको ‘रोडम्याप टु इनभेस्टमेन्ट फर इन्ह्यान्सिङ नेपाल्स फ्युचर इकोनोमी’ मा बोल्दै ज्ञवालीले नीतिगत सुधार गरी प्रवासी नेपालीलाई लगानीको वातावरण बनाउन बोर्डले सघाउने बताएका हुन् । उनले हालै सम्पन्न निर्वाचनपछि दुईतिहाइ सरकार आउन लागेकाले झनै लगानीको वातावरण बन्ने बताए । उनले दुईतिहाइ सरकार गठन भइसकेपछि एक वर्षमा १० खर्ब रुपैयाँ नेपालमा आउनसक्ने वातावरण निर्माण हुने दाबी गरे । उनले गैरआवसीय नेपालीहरूसँग भएको आइडिया, पुँजी, प्रविधि लगानी बोर्डमा प्रस्ताव गर्न पनि आग्रह गरे ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलले ८० लाख नेपालीलाई नेपालको दीर्घकालीन आर्थिक विकासमा जोड्नुपर्ने बताए । उनले भावनात्मक सम्बन्ध भन्दा पनि सुरक्षित वातावरण, बजार चाहिने बताए । नयाँ सरकारले एनआरएनलाई विशेष सुविधा र छुटसहित लगानीका लागि आह्वान गर्नुपर्ने उनको भनाइ थियो । चीन र भारतको सुरुवाती दिनमा एनआरएनलाई नै आह्वान गरेर विकास र समृद्धि हासिल गरेको स्मरण गर्दै उनले प्रवासी नेपालीको व्यवसायिकता, सीप, ज्ञान जरुरी भएको बताए । उनले आईटी पार्क, औद्योगिक निर्यातमा जोड्नुपर्ने बताए । वैदेशिक रोजगार बचत पत्र ठूलो रकमको निष्कासन नयाँ सरकारले गर्ने भन्दै उनले त्यसमा लगानी गर्न सकिने बताए । यसैगरी खास खास परियोजनाका लागि प्रोजेक्ट बन्ड लिंकको तर्जुमा गरेर लगानीको आह्वान गर्ने र प्रतिफलमुलक आयोजना भएपछि लगानी सुनिश्चित हुने उनको भनाइ थियो । नेपाल धितोपत्र बोर्ड (सेबोन)का रुपेश केसीले धितोपत्र बोर्डमा गैरआवासीय नेपालीको सहभागिताका जटिलता र गर्नुपर्ने कानुनी सुधारबारे जानकारी गराएका थिए । मुख्य मुद्दा नै ऐन संशोधन रहेको र अब स्थायी सरकारबाट आशावादी हुने ठाउँ रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा उद्यमशीलताको ठूलो सम्भावना रहेको बताए । लगानी भित्र्याउने नीतिगत सुधारहरू गर्न निजी क्षेत्रले प्रवासी नेपालीसँग हातेमालो गर्न तयार रहेको उनको भनाइ छ । ‘यहाँहरूले गरेको व्यवसायको केही अंश नेपालको सम्भावना भएको ठाउँमा लगानी गरिदिनुस् । जलविद्युत, पर्यटन, प्रविधिमा ठूलो सम्भावना छ । सहकार्य गरौं,’ उनले भने । नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई एक सय बिलियन डलरको बनाउन गैरआवासीय नेपाली (एनआरएन) को लगानी अपरिहार्य रहेको बताए । सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्र (एलडीसी) बाट स्तरोन्नति भएपछि वैदेशिक सहायता घट्ने हुँदा देश विकासका लागि डायस्पोराको लगानी आवश्यक रहेको उनको भनाइ छ । युवाहरू विदेशिने क्रमलाई ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) का रूपमा मात्र नहेरी ज्ञान र पुँजी निर्माणको अवसरका रूपमा लिनुपर्नेमा उनले जोड दिए ।
चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले नीतिगत स्थायित्व, लगानी र विश्वासमा जोड दिए । प्रवासी नेपाली र स्वदेशी उद्यमीबीच सहकार्य गर्न चेम्बर तयार रहेको उनको भनाइ थियो । ‘नयाँ सरकार आएको छ । देश अब स्थायित्व आएको छ । २/३ मेजोरिटीको सरकार छ । स्थायित्व हुन्छ । अब एकद्वार प्रणाली नीति हुनुपर्छ । सरलीकृत गर्नुपर्ने छ । हामी मिलेर काम गर्न चाहन्छौं,’ उनले भने । एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माले लगानीमा डाइभर्ट गर्न नसकेको पैसा रेमिट्यान्स भएको र यो अनुत्पादक क्षेत्रमा लगानी भइरहेको बताए । रेमिट्यान्सलाई उत्पादनमा जोड्न अर्थ शिक्षाको पनि अभाव रहेको उनको भनाइ छ ।