काठमाडौं । याम्बालिङ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयरको बिक्री खुुल्ला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा यही चैत्र आठ गतेबाट आयोजना प्रभावित क्षेत्रमा जनता र वैदेशिक रोजगारीमा क्रममा रहेकाहरुको लागि साधारण सेयरको बिक्री खुल्ला गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ७० करोड रूपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रूपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सो मध्ये सात करोड रूपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी सात करोड रुपैयाँ बराबरको सात लाख कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् दुई करोड १० लाख रूपैयाँ बराबरको प्रतिसेयर एक सय रूपैयाँ अंकित दरका दुई लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो । यो सेयरमा न्यूनतम १० कित्ताको लागि आवेदन दिन सकिने छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतममा सात हजार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतममा २१ हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा २०८३ वैशाख सात गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि चैत २२ गतेसम्म लम्बिने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।