काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि यही चैत्र नौ गतेबाट साधारण सेयरको बिक्री खुल्ला गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी एक अर्ब ७१ करोड ६० लाख रूपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रूपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेय निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात् चार करोड २९ लाख रूपैयाँ बराबरको चार लाख २९ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले पाँच प्रतिशत अर्थात् दुई लाख १४ हजार पाँच सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र चार प्रतिशत अर्थात् एक लाख ७१ हजार छ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ । बाँकी रहेको ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको ३४ लाख ७४ हजार नौ सय कित्ता सेयर भने सर्वसाधारणको लागि बिक्री गर्ने कम्पनीले जानकारी दिएको छ । साधारण सेयर खरिदको लागि न्यूनतम १० देखि अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिने छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर खरिदको लागि छिटोमा यही चैत्र १२ गते र ढिलोमा यही चैत्र २३ गतेसम्म आवेदन दिन सकिने छ ।