श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ।धरानमा आइतबार बसेको केन्द्रीय समिति बैठकले चार जनाको नाम अन्तिम रूप दिएको पार्टी प्रवक्ता सत्य घलेले जानकारी दिए। उनका अनुसार बैठकबाट टुंग्याइएका नामहरू अब निर्वाचन आयोगमा पठाइने छन्। पार्टीले आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू (पुरुष), मधेशी क्लस्टरबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्य क्लस्टरबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलित क्लस्टरबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) को नाम चयन गरेको हो। आदिवासी जनजाति क्लस्टरबाट छनोटमा परेका पूर्ण लिम्बू ब्रिटिस गोर्खाका भूपू सैनिक क्याप्टेन हुन्। उनको नाम पार्टी अध्यक्ष हर्क साम्पाङले आइतबार बिहानै एक कार्यक्रममार्फत सार्वजनिक गरेका थिए।मधेशी क्लस्टरबाट चयन भएकी रुवीकुमारी ठाकुर जेनजी समूहकी प्रतिनिधि हुन्। अध्यक्ष साम्पाङका अनुसार पार्टीले नयाँ पुस्तालाई पनि अवसर दिनुपर्ने मान्यताका आधारमा मधेशी महिलाबाट ठाकुरलाई समेटेको हो। समानुपातिकतर्फ महिला कार्यकर्ताहरूको आकांक्षा धेरै देखिएपछि थोरै सिटमा मिलाउन पार्टीलाई कठिनाइ भएको थियो। यसअघि आदिवासी महिला क्लस्टरमा मकवानपुरकी मन्दिरा मोक्तान, काठमाडौंकी आशा लामा र सुनसरीकी समला राईको नाम चर्चामा रहेको थियो। त्यसैगरी खसआर्य क्लस्टरमा दृष्टि सम्बन्धी अपाङ्गता भएका मोरङका जीवन विष्टसँग भद्र सहमति भएपछि आदिवासी जनजाति क्लस्टरबाट क्याप्टेन लिम्बूको नाम सिफारिस गरिएको हो। निर्वाचन आयोगले तोकेअनुसार क्लस्टर मिलाउनुपर्ने बाध्यता र समानुपातिक सिट सीमित हुँदा सांसद बन्न चाहने आकांक्षी धेरै भएकाले बन्दसूचीमा रहेका उम्मेदवारहरूबाट नाम टुंग्याउन पार्टी नेतृत्वलाई सकस भएको थियो।